समाचार

एउटा भिन्न नेताको अवसान

- जनक नेपाल, नेपालगन्ज

माघ २७, २०७२-पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनको खबर पाएपछि मंगलबार बिहानै बाँके पार्टी कार्यालय पुगेका नेकपा (माओवादी) का केन्द्रीय सदस्य आईपी खरेल भन्दै थिए, ‘उनी उदाहरणीय सर्वहारा नेता थिए । कोइरालाबाट सिक्नुपर्छ भनेर मैले पार्टीका बैठकमा समेत भन्ने गरेको छु ।’

खरेलले भनेझैं पूर्वप्रधानमन्त्री कोइराला सर्वहारा मात्र होइन, औसत नेपाली नेताभन्दा भिन्न राजनीतिक संस्कारका थिए । उनी आश्वासन बाँडेर नभई लोकतन्त्र संस्थागत गर्ने वाचा लिएर चुनावी मैदानमा उत्रिन्थे । ०४८ यताका पाँचवटा निर्वाचनमा कांग्रेस सभापति कोइरालाले कहिल्यै विकासे आश्वासन बाँडेनन् । सधैं प्रजातन्त्र संस्थागत गर्ने मात्र कुरा गरे ।

चुनाव जितेर जाँदा पनि देखिने गरी कुनै काम गरेनन् । ०७० को संविधानसभा निर्वाचनबाट कांग्रेस आफ्नै नेतृत्वमा पहिलो पार्टी हुनुभन्दा पहिले न मन्त्री हुन खोजे, न त आफ्नो गृहजिल्लामै सीमित रहे ।

एउटा ‘त्यागी र आदर्श’ नेताको परिचय बनाएका छन् । उनी बाँकेको एउटै क्षेत्रबाट पाँचपटक निर्वाचनमा उठे । ०४८ को आमनिर्वाचनमा विजयी उनी ०५१ को मध्यावधिमा पराजित भए । ०५६ को आमनिर्वाचनमा जितेर पनि केही गर्न नसकेको आरोप उनलाई लाग्यो । मधेस आन्दोलनपछि भएको ०६४ को संविधानसभामा अस्वाभाविक हार बेहोरे ।

दुईवटा निर्वाचन क्षेत्रबाट जित्दासमेत बाँकेलाई छाडेनन् । ‘कोइरालालाई सधैं पूर्वको नेता भनिन्थ्यो । तर, उनले सधै नेपालगन्ज मोह देखाइरहे,’ कांग्रेस नेपालगन्ज नगर सभापति प्रशान्त विष्टले भने ।

 

कोइरालाको नेपालगन्ज नाता

सुशीलकी आमा कुमुदिनी र बीपीकी आमा दिव्या दिदीबहिनी थिए । बोधप्रसाद र कुमुदिनीका ६ छोरा र तीन छोरीमध्ये उनी साइँला हुन् । ‘हुर्केकै ठूलीआमाको घरमा हो । त्यसैले बीपीसँग सबैभन्दा नजिक भएको हो,’ केही महिनाअघि दिदी आभा शर्मा भण्डारीले कान्तिपुरसित भनेकी थिइन्, ‘त्यहीं बसेर पढे–हुर्केको हो ।’

कोइराला परिवार ०१७ सालदेखि नेपालगन्जमा छ । उनका बाबु बोधप्रसाद वन अधिकृत (डीएफओ) थिए । परासीबाट नेपालगन्ज सरुवा भएसँगै सपरिवार यतै आयो । भारत बलरामपुरबाट आईकम गरेका कोइरालाले त्यसभन्दा माथि पढन भने पाएनन् । राजा महेन्द्रको ‘कू’ पछि भूमिगत र निर्वासित हुनुपर्‍यो । दिदी आभाका अनुसार कोइराला सानैदेखि अरूलाई दु:ख नदिने, दयामाया गर्ने खालका थिए । सोही कारण उनको नाम पनि सुशील राखिएको हो ।

उनको भित्री इच्छा हलिउडको हिरो हुने थियो । ०१७ सालमा अमेरिका उड्ने तरखर गरिरहेका बेला राजा महेन्द्रले कू गरेर प्रधानमन्त्री बीपी कोइरालालाई पक्राउ गरेपछि सुशील रोकिए । बीपी जेल परेपछि सुशील भाउजू सुशीला र साना छोराछोरीको हेरचाह गरेर स्वदेशमै बसे । लगत्तै, भूमिगत र निर्वासित हुनुपर्‍यो ।

भूमिहीन नेता

मुलुकको प्रधानमन्त्री बनिसकेका कोइरालाको न घर छ, न त घडेरी । बैंक ब्यालेन्स त परको कुरा, प्रधानमन्त्री हुनु अघिसम्म बैंक खातासमेत थिएन । सार्वजनिक भएको विवरणअनुसार सम्पत्तिका नाममा कोइरालासँग तीनवटा मोबाइल थिए ।

उनका भाइहरूसँग भने घरजग्गा र प्रशस्त सम्पत्ति छ । ०३६ सालमा अंशबन्डा हुँदा उनले अरू भाइसरह सम्पत्ति पाएका थिए । उनको भागमा मोरङको बखरी गाउँमा ७ बिघा खेत र विराटनगरको एउटा घडेरी परेको थियो । अविवाहित कोइरालाले पैत्रिक सम्पत्ति बिक्री गरेर पार्टी काममा खर्च गरे । त्यसैले उनी ‘भूमिहीन’ थिए ।

वन कार्यालयबाट ०२४ सालमा रिटायर्ड हुने तरखरमा रहेका बोधप्रसादले सुर्खेतरोडमा घर बनाएका थिए । अहिले उक्त घरमा कान्छो भाइ विजय बस्छन् । कोइराला गृहनगर आउँदा त्यही पुख्र्यौली घरमा बस्थे । राजनीतिक भेटघाट भाइ अरुणको घरमा गर्थे । अरुणको एक वर्षअघि निधन भएको थियो ।

प्रकाशित: माघ २७, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार