अर्थ / वाणिज्य

सर्वसाधारणलाई नियमित इन्धन : निगम

  • एक महिनासम्म लटअनुसार तेल दिइने
- राजु चाैधरी, काठमाडौं

माघ १९, २०७२-आयल निगमले सर्वसाधारणलाई नियमित रूपमा तेल दिने तयारी गरेको छ । इन्धन भित्रिने क्रम बढेपछि निगमले यो तयारी गरेको हो । ‘जिल्लाका डिपोहरूमा रहेको इन्धन उपत्यका भित्र्यााएर नियमित इन्धन वितरण गर्ने योजना बनाएका छौं,’ निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘आयातअनुसार इन्धन नियमित वितरण गर्ने छौं ।’ 

निगमले सोमबार चारपांग्रे निजी सवारी साधनलाई वितरण गरेको थियो । अर्को सूचना प्रकाशित गरी पुन: मोटरसाइकल/स्कुटरलाई इन्धन दिइने जनाएको छ । केही दिनयता इन्धन भित्रिए पनि उपत्यकामा वितरण नगरेको भन्ने सर्वसाधारणको गुनासो बढेपछि निगमले विराटनगर, नेपालगन्ज र भैरहवा डिपोको इन्धन उपत्यका भित्र्याउन निर्देशन दिएको थियो । निगमले विराटनगर डिपोबाट दैनिक १ सय किलोलिटर पेट्रोल, ३ सय किलोलिटर डिजेल पठाउन निर्देशन दिएको थियो । 

नेपालगन्जबाट ५० र ५० किलोलिटर पेट्रोल र डिजेल पठाउने निर्देशन दिएको थियो । भैरहवा डिपोबाट १ सय ५० किलोलिटर पेट्रोल र १ सय किलोलिटर डिजेल पठाउन निर्देशन दिएको थियो । ती डिपोबाट इन्धन भित्रिने क्रम बढेकाले नियमित इन्धन वितरणको तयारी भएको हो । 

‘ती डिपोबाट दैनिक २ सयदेखि ३ सय किलोलिटर इन्धन उपत्यका आएको छ,’ भट्टराईले भने, ‘उपत्यका भित्रिएको इन्धनलाई व्यवस्थित बनाएर वितरण गर्ने योजना छ ।’ इन्धन सबै पम्पबाट वितरण गरिने जनाइएको छ । 

निगमका वितरण विभागका निर्देशक दीपक बरालले इन्धन वितरणको परिमाण बढाउँदै लैजाने बताए । ‘नाकाबाट आयात र जिल्लाबाट उपत्यका भित्रिएको आधारमा इन्धन वितरणको परिमाण बढाउँदै लैजाने योजना छ,’ उनले भने । बरालका अनुसार निजी सवारी साधनहरूलाई लटअनुसार नै इन्धन वितरण गरिने छ । त्यसपश्चात इन्धन आयातको परिमाणअनुसार योजना तय गरिने जनाएको छ । ‘एक महिनासम्म लटअनुसार निजी कार/जिपलाई १५ लिटर र मोटरसाइकललाई १० लिटर पेट्रोल दिने छौं,’ बरालले भने, ‘त्यसपश्चात आयातको अवस्थाअनुसार योजना बनाउने छौं ।’

अघोषित नाकाबन्दीको क्रममा भारतीय आयल कर्पोरेसन्स (आईओसी) ले १० देखि १५ प्रतिशत मात्रै इन्धन दिँदै आएको थियो । आयातमा कटौती भएको जनाउँदै निगमले सरकारी पम्पबाट मात्रै अत्यावश्यक सवारीलाई इन्धन वितरण गर्दै आएको छ । 

कोटाअनुसार निजी सवारी साधनलाई इन्धन वितरण गरेको दिनमा भने सीमित पम्पबाट पालौपालो गरी इन्धन वितरण गर्दै आएको छ । सरकारी पम्प करिब ८ वटा छन् । सरकारी पम्पबाट मात्रै इन्धन वितरण गर्दा थप कालोबजारी भएको सरोकारवालाहरूले बताउँदै आएका छन् । 

प्रकाशित: माघ १९, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार