आईसीसी यू–१९ विश्वकप

यस्तो छ यू–१९ विश्वकप खेल्ने नेपाली टोली

- विनोद पाण्डे, काठमाडौं

माघ १३, २०७२-आईसीसी यू–१९ विश्वकप बुधबारबाट बंगलादेशमा सुरु भएको छ । नेपालले सातौं पटक युवा विश्वकपमा सहभागिता जनाउन लागेको हो । अक्टोबर १५ देखि २२ सम्म मलेसियामा भएको आईसीसी यू–१९ विश्वकप छनोट प्रतियोगिता जितेर नेपाल जनवरी–फेब्रुअरीमा बंगलादेशमा हुने यू–१९ विश्वकपमा छनोट भएको हो । नेपालले मलेसियामै २००७ मा एसीसी यू–१९ एलिट कप जितेयताको यो उमेर समूहमा पहिलो उपाधि थियो । नेपाललाई सातौं यू–१९ विश्वकपमा प्रवेश दिलाउने क्रममा खेलाडीहरुको प्रदर्शन यस्तो थियो ।

राजु रिजाल, कप्तान

कप्तान राजु रिजालले प्रतियोगितामा १ सय ५८ रन बनाए । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा चौथो स्थानमा थिए । राजुले युगान्डाविरुद्ध १ सय १ रन बनाएका थिए, जुन प्रतियोगितामा नेपालको एकमात्र शतक थियो । आयरल्यान्डसँगको फाइनलमा उनले उपयोगी ३५ रन बनाएका थिए । विकेटको पछाडीको जिम्मेवारी पनि पूर्ण रुपमा निभाउदा उनले ५ क्याच र ३ स्टम्प गरे ।

आरिफ शेख, उपकप्तान

आरिफ शेख नेपाललाई उपाधि दिलाउने क्रममा प्रमुख खेलाडीको रुपमा रहे । उनले ७५ रन बनाउनुका साथै १० विकेट लिए । प्रतियोगितामा सर्वाधिक विकेट लिनेक्रममा उनी तेस्रो स्थानमा थिए । यो प्रदर्शनले उनलाई म्यान अफ द सिरिजको उपाधि दिलायो । २००७ मा पारस खड्का एसीसी यू–१९ एलिट कपमा उत्कृष्ट भए यता यू–१९ मा म्यान अफ द सिरिज हुने आरिफ पहिलो नेपाली खेलाडी हुन् । नेपाली राष्ट्रिय टोलीबाट पनि प्रतिनिधित्व गरिसकेका आरिफले युगान्डाविरुद्व ५४ रनको इनिङ्स खेलेका थिए ।

सुनिल धमला

आईसीसी यू–१९ विश्वकप छनोट प्रतियोगिताले ओपनिङ ब्याट्सम्यान सुनिल धमलाको प्रदर्शनलाई अझ खुलाएको थियो । १ सय ७० रन बनाई उनी प्रतियोगितमा सवैभन्दा बढी रन बनाउने खेलाडीमा रहे । आयरल्यान्डसँगको राउन्ड रोबिन लिग खेलमा ७५ रन बनाउदै सुनिलले सन्दिप सुनारसँग पहिलो विकेटमा १ सय ७० रनको साझेदारी गरेका थिए, जुन नेपाली खेलाडीको यू–१९ मा अहिलेसम्मकै सवैभन्दा ठुलो साझेदारी हो । फाइनलमा पनि उनले ४७ रनको इनिङ्स खेलेका थिए । पपुवा न्यु गिनीविरुद्ध उनले १५ रन खर्चेर ५ विकेट लिएका थिए, जुन प्रतियोगिताको उत्कृष्ट बलिङ फिगर थियो ।

सन्दिप सुनार

ओपनिङ ब्याट्सम्यान सन्दिप सुनारले आयरल्यान्डसँगको राउन्ड रोबिन लिग खेलमा ८५ रन बनाएका थिए । उनले सुनिल धमलासँग पहिलो विकेटमा १ सय ७० रनको कीर्तिमानी साझेदारी गरेका थिए । ४ खेल खेल्ने क्रममा उनले कुल ९१ रन बनाए ।

योगेन्द्र कार्की

नेपालबाट प्रतियोगितामा १ सय भन्दा बढी रन बनाउनेमा योगेन्द्र कार्की तेस्रो खेलाडी थिए । उनले कुल १ सय १४ रन बनाए, जसमा उनको औषत प्रतियोगिताकै सवैभन्दा बढी ५७ थियो । युगान्डाविरुद्व ३० रन बनाएका तेस्रो नम्बरमा ब्याटिङ गर्ने योगेन्द्रले अमेरिकाविरुद्ध नटआउट ५३ रनको इनिङ्स खेलेका थिए ।

राजवीर सिंह

नेपालले आईसीसी यू–१९ विश्वकप छनोट प्रतियोगितामा वर्चस्व जमाएका कारण डयासिङ अलराउन्डर राजवीर सिंहले खासै भुमिका नै पाएनन् । उनले केवल दुई खेलमा ब्याटिङ गर्न पाए, जसमा युगान्डाविरुद्ध नटआउट १३ र फाइनलमा आयरल्यान्डविरुद्व १६ रन बनाएका थिए ।

दीपेन्द्र ऐरी

उपयोगी अलराउन्डर दीपेन्द्र ऐरीले फाइनलमा आयरल्यान्डविरुद्व खेलेको २६ रनले नेपाललाई उपाधि दिलाउन ठुलो भुमिका खेलेका थियो । ठुलो शटहरु खेल्न माहिर उनले यसपटक भने बलिङमा प्रभाव देखाए । फाइनलमा उनले २ विकेटसहित कुल ५ विकेट लिए ।

प्रेम तामाङ

प्रेम तामाङले मलेसियामा नेपालबाट सवैभन्दा बढी ११ विकेट लिए । अमेरिकासँगको खेलमा उनले ३१ रन खर्चेर ५ विकेट लिएका थिए । त्यसलाई निरन्तरता दिदैं उनले आयरल्यान्डसँगको समूह चरणमा खेलमा ४ विकेट लिए । फाइनलमा कुनै विकेट लिन नसक्दा उनी प्रतियोगिताकै उच्च विकेट लिने खेलाडी बन्ने मौका चुकाएका थिए ।

सुशील कँडेल

देव्रेहाते स्पिनर सुशील कँडेल मेडन फाल्नका लागि माहिर छन् । मलेसियामा उनले ४१ ओभरमा ८ मेडन फाल्दै ३ विकेट लिए । मलेसियामै त्यसअघि भएको एसीसी यु–१९ प्रिमियरमा साउदी अरेवियाविरुद्ध ९ ओभर मेडन फालेपछि चर्चामा आएका थिए । युएईसँग पनि सुशीलले ७ मेडन फालेका थिए । प्रतियोगितामा उनले कुल २१ मेडन फालेका थिए ।

दीपेश श्रेष्ठ

दाहिने मध्यम गतिका बलर दीपेश श्रेष्ठले प्रतियोगिताको दुई खेल खेले । त्यसमा युगान्डाविरुद्धको खेलमा उनले २५ रन खर्चेर ३ विकेट लिए । आयरल्यान्डसँगको अन्तिम २ खेलमा उनलाई खेलाइएको थिएन् ।

शंकर राना

माथिल्लो क्रमका ब्याट्सम्यान शंकर रानाले अमेरिकासँग मात्र खेलेका थिए, जसमा उनले १२ रन बनाएका थिए ।

कुशल भुर्तेल

नेपाली टोलीमा रहेका कुशल भुर्तेलले कुनै खेल खेल्न पाएका थिएनन् । सौरभ खनाल घाइते भएपछि उनलाई टिममा राखिएको थियो र दिल्लीमा उनले अफगानिस्तानसँगको अभ्यास खेलमा तल्लोक्रममा आफ्नो प्रभाव देखाएका थिए ।

सन्दिप लामिछाने

नेपाली यू–१९ टोलीबाट यसपटक विश्वकप खेल्न लागेका सन्दिप लामिछाने चितवन जिल्लाको प्रतिनिधित्व गर्ने तेस्रो खेलाडी हुन् । सन्दिपसँगैं चितवनका सुशील कँडेल र दीपेश श्रेष्ठ यू–१९ विश्वकपका लागि नेपाली टोलीमा छन् । सन्दिप र सुशीलको दुबैको घर नवलपरासी हो । अघिल्लो वर्ष चितवन क्रिकेट एकेडेमीको निमन्त्रणामा तत्कालिन प्रशिक्षक पुबुदु दासानायके नारायणगढ गएका थिए । राजु खड्काको प्रशिक्षणमा क्याम्पा चौरमा खेलिरहेका सन्दिपलाई दासानायकेले त्यही देखेपछि एकै पटक काठमाडौं बोलाएर क्याम्पहरुमा राख्न लागेका थिए । उनले यू–१९ विश्वकपका लागि आयोजित सुपर लिग प्रतियोगितामा सर्वाधिक १२ विकेट लिएका थिए ।

इशान पाण्डे

इशान पाण्डे भारतबाट नेपाल आएर खेल्न लागेको एक वर्ष पनि भएको छैन् । देब्रेहाते ब्याट्सम्यान इशानले त्यसपछि काठमाडौंमा आएर बालुवाटार क्रिकेट एकेडेमीमा प्रशिक्षण लिएका थिए । तीन महिना अघि बालुवाटारले थाइल्यान्डमा गएर सिक्स ए साइड प्रतियोगिता खेल्दा इशानले सवै खेल खेल्दै राम्रो प्रभाव पारेका थिए । यू–१९ विश्वकपका लागि खेलाडी छान्न आयोजित सुपर लिग प्रतियोगितामा एक खेलमा उनले नटआउट ८५ रन बनाएका थिए । सो प्रतियोगितामा उनले १ सय २४ रन बनाउदै सर्वाधिक रन बनाउनेमा तेस्रो स्थानमा थिए ।

हिमांशु दत्त

आईसीसी यू–१९ विश्वकपमा छानिएका तेस्रो नया खेलाडी हिमांशु दत्त पनि सुपर लिग प्रतियोगिताबाट आएका हुन् । उनले त्यसमा ९२ रन बनाएका थिए । उनी विकेटकिपर ब्याट्म्यानको भुमिकामा खेल्छन् ।

जगत टमाटा (प्रशिक्षक)

मलेसियामा आईसीसी यू–१९ विश्वकप छनोट प्रतियोगिता जितेर विश्वकपका लागि छनोट भयो । यो नेपालले २००७ पछि यू–१९ मा जितेको पहिलो उपाधि हो । नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा उपाधि दिलाउने टमाटा दोस्रो घरेलु प्रशिक्षक हुन् । टमाटा नेपालका पूर्व खेलाडी पनि हुन् ।

प्रकाशित: माघ १३, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार