आईसीसी यू–१९ विश्वकप

राजुको नेपाल फर्किने निर्णयको प्रभाव

- विनोद पाण्डे, काठमाडौं

माघ १३, २०७२-खेलाडीको जीवनमा कुनै एक निर्णयले कति प्रभाव पार्छ भन्ने उदाहरण नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान राजु रिजाललाई हेरे पुग्छ । बंगलादेशमा नेपालको नेतृत्व गर्दै आईसीसी यू–१९ विश्वकप खेल्न लागेका राजुको यात्रा परिको कथा जस्तै छ ।

तीन वर्ष अघि अछामको क्रिकेट टोली होटल डिभोटी एसपिए कप खेल्न धनगढी जाँदैं थियो । अछामका कप्तान लोकेन्द्र खत्री आफ्नो टोली पनि राम्रो बनाएर उतार्न चाहान्थे । राजु आफ्ना सवै परिवारसँगैं भारतको मुम्बईमा बस्थे । लोकेन्द्रको राजुसँग चिनजान थियो । राजुले मुम्बईमा स्कुल स्त्तरीय क्रिकेट खेलेका थिए । त्यसपछि उनलाई मुम्बईबाट खेल्न बोलाए । राजुले पहिलो खेलमै अर्धशतक बनाए । अछाम पहिलो खेलमै हारेर प्रतियोगिताबाट बाहिरियो । त्यो अर्धशतक नै राजुलाई नेपाली क्रिकेटको ढोका खोल्न महत्वपूर्ण बाटो बन्यो ।

राजुको जन्म पोखरा माथिको भागमा भएको थियो । उनलाई थाहा छैन त्यो स्थानको नाम । ‘पोखराको पूर्व तिर कता हो, मलाई ठ्याक्क थाहा छैन, म ३ वर्षको हुँदा नै हाम्रो परिवार मुम्बई लागेको थियो,’ राजुले भने । मुम्बईमा उनीसँगैं बुवा, आमा तथा दाजु र भाउजुसँग बस्छन् । धनगढी फुलबारीमा पनि रिजाल परिवारको घर छ । एसपीए कप खेल्न आएपछि उनले आफ्नो घर रहेका कारण कैलाली जिल्लाबाट खेल्न खोजे । त्यहाँ स्थान पाएनन् । अन्तत फेरी अछामबाटै क्षेत्रीय प्रतियोगिता खेल्न धनगढी आए ।

राजु भन्छन, ‘अझ केही मिहेनेत गर्ने हो भन्ने भारतमै सम्भावना धेरै छ । तर म एक पटक आफ्नै जन्म भुमि नेपाल गएर प्रयास गर्छु भनेर आए । छनोटमा परिन् भने फर्किन्छु भनेर कहिल्यै सोचिन् । तर नेपालमा प्रतियोगिताको कमि थियो । वर्षमा १–२ पटक हुने प्रतियोगिताले आफ्नो प्रतिभा नखुल्ने हो की भन्ने डर थियो ।’ एसपीए कपमा राम्रो खेलेपछि नेपाल क्रिकेट संघका पूर्व सदस्य धीरेन्द्र साउदले नेपाल बसेर खेल्न बोलाएको उनी बताउछन ।

कैलाली जिल्लाको टोलीमा नअटाएका उनी त्यसपछि अछामबाट खेल्दै धनगढीको क्षेत्रकै टोलीमा परे । काठमाडौं आएर खेले । फेरी यू–१९ राष्ट्रिय प्रतियोगितामा धनगढीको नेतृत्व गर्दै काठमाडौं आए । यो प्रतियोगिता २०१४ को नोभेम्बरमा युएईमा हुने एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाली टोलीको छनोटको आधार थियो । राजु छनोट पनि भए । तर पाकिस्तानसँगको पहिलो खेलमा उनी पहिलो बलमै आउट भए । भारतसँगको अर्को खेलमा ६ रन बनाएका राजुले युएईसँग २७ रन बनाउदै आत्मविश्वास देखाए ।

अव एसीसी यू–१९ प्रिमियरको पालो थियो । राजु यस पटक नेपालको कप्तान भइसकेका थिए । नेपाल एसीसी यू–१९ प्रिमियर जितेको भए यू–१९ विश्वकपमा छनोट हुन्थ्यो । तर कुवेतमा नेपालले सवै खेल सजिलै जिते पनि अफगानिस्तानलाई खासै चुनौती दिन सकेन् । नेपाल दोस्रो मात्र भयो । राजुले भने राम्रो प्रभाव पारे । ५ खेलमा १ सय ४७ रन बनाए । एक वर्षपछि फेरी एसीसी यू–१९ प्रिमियर लिग आयोजना भयो । मलेसियामा नेपाल फेरी दोस्रो भयो । अफगानिस्तानसँग सकेन् नेपालले बदला लिन । युएईसँगको पहिलो खेलमै राजुले ६२ रन बनाएका थिए ।

यो प्रतियोगिता नेपालका लागि मुखैमा आइरहेको आईसीसी यू–१९ विश्वकप छनोटको तयारीको रुपमा थियो, जुन मलेसियामै आयोजना हुँदैं थियो । राउन्ड रोबिन लिगमा नेपालले युगान्डा, पपुवा न्यु गिनी, अमेरिका, आयरल्यान्डलाई पराजित गर्‍यो । आयरल्यान्डलाई फाइनलमा पनि पराजित गरी नेपाल बंगलादेशमा हुने आइसीसी यू–१९ विश्वकपमा छनोट भयो । कप्तान राजु रिजालले प्रतियोगितामा १ सय ५८ रन बनाए । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा चौथो स्थानमा थिए । राजुले युगान्डाविरुद्ध १ सय १ रन बनाएका थिए, जुन प्रतियोगितामा नेपालको एकमात्र शतक थियो । आयरल्यान्डसँगको फाइनलमा उनले उपयोगी ३५ रन बनाएका थिए ।

नेपाल फर्कने उनको निर्णय त्यसपछि सफल भयो जस्तो लाग्यो राजुलाई जब यू–१९ विश्वकप खेल्न पाइने भयो । ‘नेपाललाई जिताउदा निकै गर्व लाग्यो, देशका लागि केही गरे जस्तो भयो । विश्वकपको महत्व धेरै हुन्छ हामी जस्ता खेलाडीलाई,’ राजुले भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्वकप धेरै चुनौतीपूर्ण प्रतियोगिता हो ।’ पछिल्लो १० आधिकारिक खेलमा राजुले २ सय ५० रन बनाएका छन्, जसमा औषत झन्डै ४२ छ । नेपालले विश्वकपमा समूह चरणमा न्युजिल्यान्ड, आयरल्यान्ड र भारतसँग खेल्ने छ । ‘चुनौती धेरै छ, त्यही पनि नेपाललाई दोस्रो चरणमा पुर्‍याउन प्रयास गर्नेछु,’ राजु भन्छन, ‘एउटा कप्तानको रुपमा खेलाडीहरुले जुन मेहनत गरेका छन्, त्यस अनुसार नेपालको दोस्रो चरण पुग्ने सम्भावना छ ।’

यू–१९ विश्वकपमा नेपालको यो सातौं सहभागिता हुनेछ । २०१२ मा नेपालले अस्ट्रेलियामा खेलेको यू–१९ विश्वकप राजुले टिभीमा हेरेका थिए भारतमा । नेपालले खासै प्रभाव देखाउन नसकेको जस्तो लाग्यो उनलाई । एक संस्करण बिराएर फेरी नेपाल यू–१९ विश्वकपमै फर्किएको छ ।

पाकिस्तान र श्रीलंकासँगको अभ्यास खेलमै राजुले आफ्नो प्रभाव देखाइसकेका छन् । उनले पाकिस्तानविरुद्व २८ र श्रीलंकाविरुद्व ३१ रन बनाए । राजु र उनको टोलीले कस्तो प्रभाव देखाउछ अझ त्यो हेर्न बाँकी छ । उनको लक्ष्य राष्ट्रिय टोलीको स्थान खोज्नु छ । ब्याट फर नेपाल अन्तर्गत नेपालको सहयोगार्थ मलेसियामा भएको खेलमा विश्व ११ विरुद्ध राजुले राष्ट्रिय टोलीबाट खेलेका थिए । उनी भन्छन्, ‘सजिलो केही पनि छैन । म आफनो उत्कृष्ट दिनका लागि खेल्छु ।’

प्रकाशित: माघ १३, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार