आईसीसी यू–१९ विश्वकप

आईसीसी यू–१९ विश्वकपमा पुनरागमन गर्दै नेपाल

- कान्तिपुर संवाददाता , काठमाडौं

माघ १३, २०७२-आईसीसी यू–१९ विश्वकप बुधबार सुरु भएसँगै एक समय अमिट छाप छाडेको नेपालले यसमा पुनरागमन गर्दै छ । भारत र न्युजिल्यान्डजस्ता टोली समूह चरणकै प्रतिद्वन्द्वी भए पनि बंगलादेशमा नेपालको लक्ष्य दोस्रो चरणमा पुग्नु छ ।

नेपालले बिहीबार न्युजिल्यान्डसँग खेलेर प्रतियोगिताको सुरुवात गर्दै छ । त्यसपछि शनिबार आयरल्यान्ड र सोमबार भारतसँग खेल्नेछ । २००६ मा न्युजिल्यान्डलाई नै पराजित गरी नेपालले प्लेट फाइनल जितेको थियो ।

आयरल्यान्डमाथि अक्टोबरमा छनोट प्रतियोगिताको राउन्ड रोबिन र फाइनलमा विजय हात पारी नेपाल यू–१९ विश्वकपमा छनोट भएको थियो । दाबेदार भारत कीर्तिमानी चौथोपटक प्रतियोगिता जित्ने दाउमा छ ।

यू–१९ विश्वकपमा नेपालको यो सातौं सहभागिता हो । यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६, २००८ र २०१२ मा यो प्रतियोगितामा खेलेको थियो । यस क्रममा नेपालले नेपालले दक्षिण अफ्रिका, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश, जिम्बावेलाई पराजित गरिसकेको छ । प्रत्येक २ वर्षमा हुने युवा विश्वकपमा नेपाल २०१० र २०१४ मा भने छनोट हुन सकेको थिएन ।

नेपालले शनिबार र सोमबार क्रमश: पाकिस्तान र श्रीलंकासँग अभ्यास खेल खेलेको थियो । यसलाई लिएर नेपाली टोलीमा निखार आएको प्रशिक्षक जगत टमाटाले मंगलबार बंगलादेशबाट जनाए ।

‘सबै हिसाबमा हाम्रो तयारी राम्रो भयो, अभ्यास खेललाई नराम्रो भन्न मिल्दैन,’ टमाटाले भने, ‘बलरले राम्रो भूमिका निभाए । ओपनर र माथिल्लो क्रमको ब्याटिङमा समस्या देखिएको छ । तर एक्सपोजरको हिसाबमा राम्रै मान्नुपर्छ ।’

नेपाल अभ्यासमा पाकिस्तानसँग १ सय १० रनले र श्रीलंकासँग ६५ रनले पराजित भएको थियो । श्रीलंकासँग ४ विकेटले पराजित न्युजिल्यान्डले अफगानिस्तानमाथि १३ रनको संघर्षपूर्ण विजय हात पारेको थियो ।

प्रशिक्षक टमाटाका अनुसार न्युजिल्यान्डले श्रीलंकासँग खेलेको अभ्यास खेल हेर्न उनी र सहायक प्रशिक्षक विनोद दास गएका थिए । न्युजिल्यान्डको टोलीले पनि नेपालको श्रीलंकासँग खेलेको अभ्यास खेल हेरेको थियो ।

दुवै अभ्यास खेलमा नेपालको माथिल्लो क्रम चल्न सकेको थिएन । सुनील धमलाले ओपनिङ जोडी राम्रो पाउन सकेका छैनन् । टमाटा अहिलेको स्थितिमा सुनील र सन्दीप सुनार नै ओपनर खेल्ने निश्चित रहेको बताउँछन् ।

अर्को विकल्पमा उनी ईशान पाण्डे अगाडि सार्छन् । पाकिस्तानसँग सुनीलको जोडीको रूपमा आएका ईशानले २० रन बनाएका थिए । श्रीलंकासँग ईशानको स्थानमा खेलेका सन्दीपले १२ रन बनाएका थिए ।

 

न्युजिल्यान्डका कप्तान जोस फिन्नीको विश्वकपमा यो दोस्रो सहभागिता हो । न्युजिल्यान्डले यूएईमा अस्ट्रेलिया र पाकिस्तानसँग त्रिकोणात्मक एकदिवसीय शृंखला खेलेर आएको हो । न्युजिल्यान्ड त्यहाँ २ मा पराजित भएको थियो भने अस्ट्रेलिया र पाकिस्तानसँगको १–१ खेल जितेको थियो ।

‘हाम्रो स्पिन धेरै राम्रो छ, हामीले २ सय भन्दा बढी रन बनाउन सक्यौं भने न्युजिल्यान्डसँगको खेल हाम्रो पक्षमा हुन सक्छ,’ टमाटाले भने, ‘जुन मिहिनेत हामीले गरेका छौं, त्यो अनुसार हाम्रो टिम राम्रो छ । लक्ष्यअनुरूप दोस्रो चरणमा पुग्न न्युजिल्यान्डसँग राम्रो सुरुआतको जरुरी छ ।’

मलेसियामा अक्टोबरमा भएको भएको आईसीसी यू–१९ विश्वकप छनोट प्रतियोगितामा नेपालले आयरल्यान्डलाई समूह चरण र फाइनलमा दुवैपटक पराजित गरेको थियो । अस्ट्रेलियाले सुरक्षाको कारण देखाई विश्वकप नखेल्ने जनाएपछि आयरल्यान्डको भाग्य खुलेको हो । ‘मलेसियाको टोलीमा तीन नयाँ खेलाडी छन्, तर हामी कसैलाई कमजोर आक्दैनौं,’ टमाटाले भने, ‘बंगलादेशको विकेट कुनै पनि टोलीका लागि सजिलो छैन ।’

भारतसँग नेपालले यू–१९ विश्वकपमा दोस्रो पटक प्रतिस्पर्धा गर्न लागेको हो । २००० मा नेपाल सुपर लिगमा भारतसँग ८ विकेटले हारेको थियो । भारत तीन पटकको विजेता हो । भारतले २०००, २००८ र २०१२ मा यो प्रतियोगिता जितेको थियो ।

विश्व क्रिकेटका महान ब्याट्सम्यान राहुल द्रबिडको प्रशिक्षणमा उत्रने भारती टोलीका सरफराज खानलाई नयाँ ठूलो प्रतिभाको रूपमा हेरिएको छ र उनले रोयल च्यालेन्ज बैंग्लोरबाट इन्डियन प्रिमियर लिगमा पनि खेलिसकेका छन् । सरफराजसँगै रिकी भुवी र अभेष खानको यू–१९ विश्वकपमा यो दोस्रो सहभागिता हो ।

भारतले बंगलादेशको यात्रा गर्नुअगाडि डिसेम्बरमा श्रीलंका र इंग्ल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखला जितेको थियो । त्यसपछि अफगानिस्तान र बंगलादेशसँगको शृंखला पनि भारतले जितेको थियो ।

नेपाल भने भारत भ्रमणमा दिल्लीमा अफगानिस्तानसँग दुई अभ्यास खेलमा हारेको थियो । द्रविड भारतीय टोलीबारे भन्छन्, ‘हाम्रो योग्य टोली छ, त्यसमा केही प्रतिभाशाली खेलाडीहरू छन् ।’ भारतको क्षमताबारे आफू जानकार रहेको टमाटा बताउँछन् । उनले भने, ‘भारत सबैभन्दा बलियो टोली हो, उनीहरूसँग आईपीएल र रणजी खेलेकै खेलाडी छन् । तर उनीहरू कस्तो छन् भन्दा पनि हामी राम्रो खेल खेल्न खोज्नेछौं ।'

 

प्रकाशित: माघ १३, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार