समाचार

तस्करीको ट्रान्जिट दिल्ली र कोलम्बो

- दीपेन्द्र विष्ट , काठमाडौं

माघ ६, २०७२- काठमाडौंकी विनु श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कर्मचारीले नयाँदिल्ली उड्न लागेको अवस्थामा नेपाल वायुसेवा निगमको विमानबाट नियन्त्रणमा लिए । केरकार गर्दा उनी श्रीलंकाको कोलम्बो जान लागेको पत्ता लाग्यो ।

हरेक जाँचमा सुरक्षाकर्मीलाई झुक्याउँदै उनी अध्यागमनको अन्तिम सुरक्षा जाँचसम्म पुग्न सफल भएकी थिइन् । सुरुमा अन्तिम गन्तव्य दिल्ली बताएकी थिइन् ।

‘गैरकानुनी तरिकाबाट विदेश जान लागेका औसत आठ युवायुवतीलाई हरेक दिन फर्काउँदै आएका छौं,’ अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले भने, ‘मानव तस्कर निकै सक्रिय भएका छन् । काठमाडौंका म्यानपावरदेखि श्रीलंकासम्म सञ्जाल भेटिएको छ ।’

होटेलमा काम गर्ने प्रलोभनमा श्रीलंका पुर्‍याएर युवतीहरूलाई यौनधन्दामा समेत लगाउने गरेको खुलेको उनले जानकारी दिए ।

उनका अनुसार वर्षमा तीन हजारभन्दा बढीलाई विमानस्थलबाट फर्काइने गरेको छ ।

‘पर्यटक भिसा लिएका हुन्छन् । त्यस्तो आर्थिक हैसियत देखिंदैन अनि फर्काइन्छ,’ उनले भने । उनका अनुसार गिरोहले युवतीहरूलाई रुट परिवर्तन गरेर यौनधन्दाका लागि खाडी र अफ्रिकी मुलुक तथा युरोप र अमेरिकासम्म पुर्‍याइरहेको खुलेको छ ।

त्यसका लागि नयाँदिल्ली, श्रीलंका, हङकङ र बंगलादेशलाई ट्रान्जिट बनाइने गरेको छ ।

भारतसँगको खुल्ला सीमानाको फाइदा उठाउँदै स्थलमार्गबाट पनि मुम्बई र दिल्ली पुर्‍याउने गरेका छन् । त्यहाँबाट तेस्रो मुलुकका गन्तव्यमा उडाइन्छ । नेपाली नागरिकता देखाएकै भरमा भारत जान पाउने प्रावधानका कारण तस्करी धन्दा रोक्न कठिन भएको न्यौपानेले बताए ।

‘नागरिकता देखाउँदै भारत जान्छन्, भिसा भने लुकाउँछन् । केहीले कुरियरबाट भिसा दिल्ली पठाइसकेका हुन्छ,’ उनले भने ।

केही महिनायता श्रीलंका जानेहरू बढेका छन् । अध्यागमन विभागका अनुसार महिनैपिच्छे गिरोहले रुट परिवर्तन गराउँछ । ‘दिल्ली, कोलम्बो र ढाका मात्र होइन, होटलमा एक दिन बस्न पनि गाह्रो हुने आर्थिक हैसियतका मान्छे पर्यटक भिसामा रुसको मस्को र हङकङ गइरहेका छन्,’ महानिर्देशक न्यौपानेले भने ।

 

  •     हरेक महिना मानव तस्कर रुट परिवर्तन गर्छन्
  •     हरेक दिन आठ युवतीलाई विमानस्थलबाट फर्काइन्छ
  •     भारतको नयाँदिल्ली, श्रीलंकाको कोलम्बो, हङकङ र बंगलादेशको ढाका ट्रान्जिट
  •     आर्थिक हैसियत नदेखिनेहरूका साथमा पर्यटक भिसा

प्रकाशित: माघ ६, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार