समाचार

मुद्दाको चाप दशकयताकै न्यून

- दीपेन्द्र विष्ट, काठमाडौं

पुस १७, २०७२- प्रहरीले यस आर्थिक वर्षमा मुद्दाको चाप करिब १८ प्रतिशतले घटेको बताएको छ ।
आव ०७०/७१ मा मुद्दाको वृद्धिदर २१ प्रतिशत थियो, ०७१/७२ मा करिब ३ प्रतिशत मात्र छ । अपराध अनुसन्धान विभागको प्रतिवेदनका आधारमा मुद्दा संख्या विश्लेषण गर्दै प्रहरी प्रधान कार्यालयले आपराधिक क्रियाकलापमा समेत कमी आएको दाबी गरेको छ ।
‘भूकम्पपछि आपराधिक गतिविधिमा संलग्न व्यक्ति भागेका पनि हुन सक्छन्,’ विभागमा डीआईजी नवराज सिलवालले भने, ‘१० वर्षको तथ्यांक हेर्दा अपराधको संख्या निकै घटेको छ ।’
मुद्दाको वृद्धिदर ०६९/७० मा ४.८९, ०६८/६९ मा १०, ०६७/६८ मा १६, ०६६/६७ मा १३, ०६५/६६ मा १२, ०६४/६५ मा १६ र ०६२/६३ मा २१
प्रतिशत थियो ।
२०७०/०७१ र ०७१/७२ मा जबर्जस्ती करणी, बैंकिङ कसूर, बहुविवाह, नागरिकता, बोक्सी आरोप, ठगी, लागूऔषधलगायत अपराधको वृद्धि भने उच्च देखिएको छ । प्रहरीले ११ वटा क्षेत्र छनोट गरेर ‘क्राइम एक्सन प्लान’ लागू गरेको डीआईजी सिलवालले बताए । चेतनास्तरमा वृद्धिसँगै आपराधिक गतिविधिको परिमाणमा कमी आएको उनको दाबी छ ।
कर्तव्य ज्यान, खुन डाँका, मानव बेचबिखन तथा ओसारपसार, अपहरण र अवैध हातहतियारजस्ता जघन्य अपराध पनि घटेको प्रहरीको भनाइ छ । बैंकिङ कसुर, ठगीजस्ता आर्थिक अपराधको दर भने हरेक वर्ष वृद्धि हुँदै गएको देखिएको छ । त्यससँगै आर्थिक अपराध पनि बढेको प्रहरीको भनाइ छ ।
२०७०/०७१ मा २७ हजार ३ सय ८६ मुद्दा थिए । जसमा ४ हजार ५ सय ४ आत्महत्या, १ हजार ६ सय ४१ सवारी दुर्घटना, २ हजार ४ सय ३४ भवितव्य ज्यान थिए । यस्तै, वास्तविक अपराध १८ हजार ५ सय ९५ थिए ।
आव ०७१/७२ मा मुद्दाको संख्या २८ हजार ७० छ । जसमा ४ हजार ४ सय ३२ आत्महत्या, १ हजार ६ सय ६३ सवारी दुर्घटना २ हजार ७ सय ७६ भवितव्य ज्यान तथा वास्तविक अपराध १८ हजार २ सय ६७ छन् ।
अघिल्लो आवको तुलनामा वास्तविक अपराध १ दशमलव ७६ प्रतिशतले घटेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा आपराधिक घटना उपत्यकामा भएका छन् ।

 

प्रकाशित: पुस १७, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार