समाचार

भूकम्पपीडितको प्रश्न- ‘सरकार घर बनाउँ कि नबनाउँ ?’

- मकर श्रेष्ठ, गुम्बा (सिन्धुपाल्चोक)

पुस १७, २०७२-गुम्बा २ का जगतबहादुर श्रेष्ठकी वृद्धा आमा बिरामी छिन् । उनलाई चिसोले थप गलाएको छ । भूकम्पले घर भत्किएपछि जस्ताको छानो ओडाएर अस्थायी टहरा त बनाएका छन्, शीतले सुतेकै अवस्थामा ओछ्यान भिज्छ । चित्राको बारले चिसो सिरेटो छेक्दैन ।

‘गाउँमा कसैले घर बनाउन सुरु गरेको छैन । मैले मात्र घर बनाउने ?’ उनले भने । भूकम्पयता खाद्यन्नलगायत राहतको कुनै कमी छैन । संघसंस्थाले केही न केही सहयोग गरिरहेकै छन् । बालबालिकालाई बिहीबार हेलम्बु एजुकेसन एन्ड लाइभ्लिहुड पार्टनरसिप (हेल्प) ले झोला, न्यानो कपडा र शैक्षिक सामग्री वितरण गर्‍यो । घर बनाउने विषयमा सरकारले कुनै निर्णय नदिँदा भने पीडित अन्योलमा छन् ।

‘हामीले कति समय गोठमा बस्नुपर्ने हो ?’ स्थानीय अमरबहादुर शाक्यले भने, ‘कस्तो घर बनाउने चाँडै निर्णय होस् ।’ सरकारले भूकम्पप्रतिरोधी घरको मोडेल सार्वजनिक गरे पनि दुर्गमका बासिन्दासम्म पुग्न सकेको छैन । गुम्बा सिन्धुपाल्चोककै दुर्गम गाविस हो । १, ३ र ४ वडाका २ सय १२ घरमा भूकम्पले क्षति पुर्‍याएको छ । १२ जनाको मृत्यु भएको थियो । आफन्त गुमाएका उनीहरूलाई राहत सामग्रीभन्दा पनि घर बनाउने ठोस निर्णयको खाँचो छ । आफ्नै सीपले बनाएको घर भत्किएपछि अब जति रेक्टरको भूकम्प आए पनि नभत्किने घर बनाउन चाहन्छन् पीडित । ‘हाम्रो सीप त काम नलाग्ने रै’छ,’ गुम्बा ४ का मंगलाल तामाङले भने, ‘कसरी बनाउँदा भत्किँदैन, हामीलाई सिकाइदिनुस् ।’

पीडितमध्येका कसैले चिसो बढे पनि घर बनाउने सुरसार गरेका छैनन् । कतिपयले भत्किएको घरको ढुंगा पनि निकालेका छैनन् । भग्नावशेष हटाउँदा सरकारी अनुदान नपाइने चिन्ता उनीहरूमा छ । ‘नयाँ घर बनाउन घडेरी पनि खारेको छैन,’ मंगलालले भने ।

सेलमाई तामाङले राहतमा १६ वटा जस्ता पाइन् तर घर बनाएपछि ओडाउने भन्दै प्रयोगमा ल्याएकी छैनन् । ‘अहिले प्रयोग गर्दा प्वाल पर्छ,’ उनले भनिन्, ‘नयाँ घर बनाएर एकैपटक ओढाउने भनेर राखेका छौं ।’ टोलमा कसैले बनाउन नथालेकाले सेलमाईले पनि सुरसार गरेकी छैनन् ।

गुम्बाकै छेउवाङले भने पालको छाप्रोमा चिसोले बस्नै नसक्ने भएपछि ढुंगाको गारोमा जस्ताको छानो हालेर छाप्रो बनाएका छन् । त्यही छाप्रो पनि बुधबार फेरि भूकम्पले हल्लाएपछि उनी तनावमा देखिन्थे । ‘पहिलेको घरमा पनि ढुंगाकै गारो थियो,’ उनले भने, ‘अहिले पनि त्रासमा छौं ।’ भूकम्प प्रतिरोधी घर बनाउन तालिम लिएका डकर्मीले पनि निर्माणमा हात हालेका छैनन् । गुम्बा गाविसका बासिन्दा मात्र नभई साढे ६ हजारभन्दा बढी पीडितको एउटै जिज्ञासा छ, घर बनाइहाले सरकारले दिने राहत नपाइने पो हो कि ?

‘अहिले नबनाउनुस्’

पूर्णचन्द्र भट्टराई

प्रवक्ता, स्थानीय विकास मन्त्रालय

घर बनाउने कि नबनाउने भन्ने सबैमा अन्योल छ । अहिले तत्काल घर बनाउन मिल्दैन । कस्तो बनाउने भनेर १७ वटा नक्सालाई अन्तिम रूप दिइसकेका छौं, ती सबै ग्रामीण भेकका लागि हुन् । बाक्लो बस्तीमा कस्तो घर बनाउने भन्ने अर्को नक्सा २/४ दिनमा आउँदैछ । सहरी क्षेत्रका लागि पनि नक्सा बन्दैछ । अहिले सार्वजनिक भएको नक्साअनुसारका घरको लागत दुईदेखि २० लाखसम्म पर्छ । हामीले डिजाइन मात्रै दिने हो, व्यक्तिले आवश्यकताअनुसार बनाउन सक्छन् ।

भूकम्पपीडितलाई सहजै प्राविधिक सुविधा पुर्‍याउन १४ वटै जिल्लामा डिभिजन भवन कार्यालय खुल्दैछन् । घर भूकम्प प्रतिरोधी बनाउनुपर्छ, मिस्त्री पनि तालिमप्राप्त हुनुपर्छ । घर बनाउनुअघि गाविस वा नगरपालिकामा निवेदन दिनुपर्छ । सरकारी डिजाइनका घर बनाउन चाहे तत्काल नक्सा पास हुन्छ, परिमार्जन गर्नुपर्दा केही दिन लाग्छ ।

प्रकाशित: पुस १७, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार