विचार/विश्‍लेषण

छठीको आलोकमा राष्ट्रिय स्वावलम्बन

- धीरेन्द्र प्रेमर्षि, काठमाडौं

मंसिर १, २०७२-प्राकृतिक र सांस्कृतिक सम्पदाले सम्पन्न हामी नेपाली चाडपर्व भनेपछि हुरुक्कै हुुन्छौं । आफूले मान्दै आएका सनातनी चाडपर्वहरू पूर्ण उल्लासका साथ मनाउँछौं । आयातीत चाडपर्व तथा उत्सवविशेषमा पनि उत्तिकै उल्लसित भई रमाउने गर्छौं । यस्तोमा सह–संस्कृतिका उपहारहरूलाई नअँगाल्ने त झन् कुरै आउँदैन । यसले गर्दा नेपाललाई चाडपर्वहरूको देश भनेर परिचय दिँदा पनि फरक पर्दैन ।

चाडपर्व तथा धार्मिक–सांस्कृतिक क्रियाकलापहरूका विविध आयाम हुने गर्छन् । तर नेपालमा मनाइने अधिकांश चाडपर्वले राम–रमाइलो र अति धार्मिकता वा अन्धभक्तिलाई प्रश्रय दिइरहेको पाइन्छ । नेपालका सबैभन्दा ठूला पर्वको चिनारी पाएका दुुई महापर्व दसैंै र तिहारकै कुरा गर्ने हो भने पनि एउटालाई टन्न खानेपिउने पर्वका रूपमा लिइन्छ भने अर्को जुवा–तास खेलेर बस्ने पर्वका रूपमा जानिन्छ । यद्यपि दसैंमा टीका–जमरा लगाउनै भए पनि आफन्तहरूसँग जुन किसिमको आत्मीय मिलाप र सहचार्य प्राप्त हुन्छ, त्यसको विशिष्ट सामाजिक/सांस्कृतिक स्थान छँदैछ । त्यसैगरी तिहारमा भाइटीकाका रूपमा भाइ–बहिनी बीचको प्रेमलाई पुुनर्ताजगी प्रदान गर्ने तथा भैलो–देउसीजस्ता संस्कृतिलाई जीवन्त राख्ने सकारात्मकता पाइन्छ ।

पछिल्ला वर्षहरूमा मिथिलाको लोकपर्व छइठले बहुसंख्यक नेपाली जनमानसमा गहिरो स्वीकृति पाएको छ । यसलाई पहाड र मधेसी संस्कृतिको सबल सेतुका रूपमा पनि व्याख्या–विश्लेषण गर्ने गरिएको छ । शुभकामनाको औपचारितामा दसैं–तिहारसँगै छइठले पनि स्थान पाउन थालेको छ । पत्रपत्रिकाका पानादेखि रेडियो र टेलिभिजनसम्म यसले सम्मानित स्थान पाउँदै गएको देखिन्छ । राष्ट्रप्रमुख, सरकार प्रमुखहरू छइठ घाटसम्म पुगेर जनआस्थामा सहभागी हुनेक्रम बढ्दो छ भने विगतका वर्षहरूलाई हेर्दा छइठ–घाट राजनीतिक सम्भाषण तथा संवादको पनि एउटा महत्त्वपूर्ण मञ्चका रूपमा प्रयुक्त हुँदै आएको देखिन्छ । यति हुँदाहुँदै पनि मानिसको मन, मुटु र माटोमा रुझेको यस पर्वको आवरणले मात्र देशमा आकार लिन पाएको अनुभूत हुन्छ । पर्वको अन्तरवस्तुसँग पछिल्लो कालक्रमका छइठ–पूजकहरूको तादात्म्य स्थापित हुनसकेको छैन भने सनातनी छइठ–पूजकहरूलाई त्यसको अन्तररवस्तुसँग जोडेर राखिरहेका सांस्कृतिक तन्तुहरूको प्राकृत स्वभाव लुप्तप्राय: भएको छ । यसरी छइठजस्तो प्रकृति, मानवता, कर्मशीलता, स्वावलम्बन, सहअस्तित्व, संरक्षण, सफाइ आदि अनेकौं पक्षसँग विज्ञानसम्मत ढंगले तादात्म्य कायम राख्दै आएको महापर्व हाल महत्त्व बढ्दै गएजस्तो देखिएको अवस्थामा कृत्रिमता र आडम्बर प्रदर्शनको माध्यमसमेत बन्न गएको छ ।

चाडपर्व फगत राम–रमाइलो गर्ने वा अन्धभक्तिमा डुबुल्की लगाउने माध्यम होइनन् । चाडपर्वका क्रियाकलापहरूलाई कर्मकाण्डमा सीमित नराखेर कर्मक्षेत्रमा उतार्ने हो भने खासगरी छइठ यस्तो पर्वका रूपमा हामीसामु उपस्थित हुन्छ, जसले हामीलाई अनेकौं विघ्न–बाधाबाट मुक्त हुने मार्ग देखाउँछ । यतिखेर हाम्रो देशमा सहकार्य, सद्भाव, स्वावलम्बन, साहचर्य, सम्पन्नता आदि नितान्त आवश्यक भएको छ । हामीले राजधानीमा छइठ मनाउन थालेको पनि दुई दशक बितिसकेको छ भने राष्ट्रिय पर्वकै रूपमा यसलाई स्वीकार गरेर व्यापकता प्रदान गर्दै आएको पनि दशक पुगिसक्यो । हामीले यस पर्वको महत्तालाई हार्दिक रूपमा मनन गरी यसको अन्तरमा रहेका सन्देशहरूलाई आत्मसात गर्नसकेको भए आज जसरी हामी स्वावलम्बी हुनुपर्ने आवश्यकता तीव्र रूपले महसुस गर्दैछौं, त्यस बाटोमा हामी निकै अघि बढिसकेका हुन्थ्यौं ।

यस पर्वको परम्परातर्फ जाने हो भने यसमा सामान्यतया यस्ता कृषि उपजहरू प्रसादको रूपमा चढाइन्थे वा चढाइन्छन्, जुन एउटा आम किसानको आफ्नै खेतबारीमा फल्ने गर्छ । यस्ता प्रसाद सत्तरी प्रकारसम्मको हुनुपर्ने मान्यता छ । यसमा काउली, मुला, उखु, पिंँडालुदेखि सुन्तला, केरा, केराउ आदि वनस्पति तथा दुग्धजन्य खाद्यवस्तुहरू हुन्छन् । कुनै धनाढ्य व्यक्तिले पनि छइठ पूजामा आवश्यकभन्दा बढी देखाउन पाउँदैनथे भने निर्धनतम व्यक्तिले पनि यति कुरा कम्तीमा चढाउनैपथ्र्यो वा पर्छ । कात्तिक महिनामा मनाइने यस पर्वमा यी सबै खाद्यवस्तु किसान आफैले उब्जाएका हुन्थे । छइठ पूजा गर्ने थलो अर्थात् घाट बनाउन परिवारका सदस्यहरू स्वयं कोदालो, ढकी आदि लिएर जान्थे, पोखरी सफा गर्थे, घाट बनाउँथे र पूजालायक स्थानका रूपमा जलाशयलाई रूपान्तरित गर्थे । छइठका प्रसादहरू— ठकुवा, भुसबा आदिसमेत व्रत बस्ने वा ऊ जत्तिकै चोखिएर बस्ने मानिसले मात्र पकाउने प्रावधान छ । छइठ घाटसम्म परिवारका सदस्यहरूले स्वयंले नै बोकेर प्रसादहरू लाने–लैजाने प्रचलन थियो । यी सबै कुराले कर्मशीलता तथा स्वावलम्बनकै पक्षपोषण एवं प्रसार गरिरहेको देखिन्छ ।

समाजमा हरेक जातिको उपस्थितिलाई सम्मान गर्दै तिनका लागि रोजीरोटीको उचित प्रबन्ध भइरहन सकोस् भनेरै यसमा प्रत्येक वर्ष नयाँ–नयाँ नाङ्ला, कुनियाँ, डाला, ढकी आदि आवश्यक पारिएको छ, जसले गर्दा बाँसका सामग्रीहरू बनाउने काममै आश्रित जातिहरूले सहज रोजगार पाइरहन सकुन् । माटाका हात्ती, दीयो, मटकुरी, कोसिया आदि प्रत्येक वर्ष नयाँ नै प्रयोग गर्नुपर्ने प्रावधानले माटाका भाँडाकुँडा बनाउनेहरूको पेसाले सहज निरन्तरता पाइरहन्थ्यो । यसरी सहअस्तित्वलाई सम्मान गरिएको थियो । पानीको वरिपरि अत्यन्त पवित्रतासाथ मनाइने गरिए तापनि यस पर्वमा छुवाछूतले कुनै स्थान पाउनसकेको देखिँदैन । फरक धर्म मान्ने मुसलमानहरूले पनि यदाकदा छइठ परमेश्वरीको भाकल गरेर आफूले भाकल गरेको सामग्री चढाइदिन व्रत बस्नेहरूलाई आग्रह गर्ने गरेबाट यसले धार्मिक सहिष्णुता र सद्भावलाई यथेष्ट टेवा पुर्‍याएको मान्न सकिन्छ ।

कतिपय विषम परिस्थितिमा केही मानिसले घर–घर गएर माग्दै छइठका लागि आवश्यक संसाधन जुटाएर यो पूजा गर्ने गर्छन् । आत्मनिर्भरता र स्वावलम्बनको सन्देश दिने यस पर्वले अवस्था विशेषको कारणले गर्दा नै सम्बन्धित व्यक्ति माग्न बाध्य भएको ठहर गर्दै कसैले कुनै किसिमको नाइँनास्ती नगरी त्यस्ता व्यक्तिलाई भिक्षा दिने गर्छन् । वस्तुत: त्यो भिक्षा एक पटकको छइठ पूजाका सामग्री जुटाउन मात्र नभई सवावलम्बनको पाठ पढ्न र आगामी दिनमा स्वयं स्वावलम्बी हुन दिने गरिन्छ । अचेल विकासे भाषमा हामी माछा दिँदैनौं, माछा मार्ने तरिका सिकाइदिन्छौं भन्ने गरिन्छ, तर छइठले यो तरिका उहिल्यैदेखि सूर्यदेवलाई साक्षी राखी अपनाउँदै सिकाउँदै आएको छ ।

यस पर्वको सबैभन्दा महत्त्वपूर्ण पाटो त प्राकृत ऊर्जाको स्रोत सूर्यकै पूजा हो । जीवनका लागि भूमि, पानी र घाम अपरिहार्य छ । जल–जमिनको संगमस्थलमा सूर्यको उपासना–आराधना छइठ पर्वको सौन्दर्य हो । तर उदाउँदो सूर्यको पूजा त गर्नैपर्छ, पहिले त्यस सूर्यको पूजा गरौं, जसबाट दिनभरि हामीले ऊर्जा पाएका छौं, उष्मा पाएका छौं भन्ने कुराले मानवताको सबैभन्दा ठूलो सन्देश दिइरहेको हुन्छ । सरसरी हेर्दा विशुद्ध बौद्धिक विलासजन्य भावुक कुराजस्ता लागे तापनि यी कुरालाई यस कोणबाट मनन गर्दै राष्ट्रिय जीवनमा उतार्न हामीले राष्ट्रका संयन्त्रहरूसमेत परिचालित गरिदिने हो भने छइठ मैयासँग मागिने सुस्वास्थ्य, सन्तान, समृद्धि आदि यावत कुरालाई हामी दिनकर दिनानाथको प्राकृत प्रसादकै रूपमा संस्थागत गर्दै जान सक्षम हुन सक्छौं ।

प्रेमर्षि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हुन् ।

प्रकाशित: मंसिर १, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार