देश

चिसोले भूकम्पपीडित बिरामी

- कान्तिपुर टिम, काठमाडाैं

कार्तिक १३, २०७२-भारतको नाकाबन्दीका कारण इन्धन अभावले राहत सामग्री नपाएका भूकम्पपीडितहरू हिमपात र वर्षाको चिसोले बिरामी पर्न थालेका छन्। उनीहरूलाई दम, रुघाखोकी र ज्वरोले सताउन थालेको छ। महाभूकम्पले घर भत्काएपछि अस्थायी टहरामा बस्दै आएका गोरखा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, काभ्रे, लमजुङलगायत जिल्लाका पीडितहरू वर्षा र हिमपातका बेला समेत त्रिपालमुनि बस्नुपरेकाले चिसोले कठ्यांग्रिएका छन्।

‍‍‍‍‍‍‍‍‍‍‍.....................

गोरखाको उत्तरी क्षेत्रमा बुधबार रातिदेखि नै हिमपात भएका कारण चिसोले सताएको पीडितले टेलिफोनमा बताए। बालबालिका, वृद्धवृद्धालाई हिँडडुल गर्न समस्या भएको सामागाउँकी कासाङ लामाले बताइन्। सामागाउँ, प्रोक, ल्हो, बिही, चुम्चेत, छेकम्पार लगायतका उत्तरी क्षेत्रका बस्तीहरूमा हिमपात भएको समागाउँ पुगेका पर्यटक भरिया भगतबहादुर बरामले जानकारी दिए। ‘एक फिटसम्म हिउँ परेको छ,’ उनले भने।

बारपाक, लाप्राक, गुम्दा, लापु, उहिया, सिर्दिबास, करौंजाका भूकम्प पीडितलाई चिसोले सताएको छ। अस्थायी टहरा पनि नबनाएर त्रिपालमुनि बसेका उनीहरू जाडोले कठयांग्रिएको करौंजाका आइतलाल गुरुङले जानकारी दिए। पानीले त्रिपालमुनिको अन्नपात र लत्ताकपडा भिजेको पीडितले बताए। ‘पानी रोकिएकै छैन, टहरोभित्र चिसो पसेर बस्नै नसकिने भएको छ,’ सौरपानीका बुद्धिबहादुर तामाङले भने। पहिरोको जोखिमले वर्षातको समयमा त्रिपालमुनि बसेका धेरैले अस्थायी टहरो बनाउन भ्याएका थिएनन्। मध्य हिउँद यामभन्दा दुई महिनाअघि नै हिमपात भएपछि उनीहरू समस्यामा छन्। ‘वर्षाभरि त्रिपालमा पानीले भिजायो,’ उनले भने, ‘हिउँद सुरु नहुँदै चिसोले अँठ्याउन थाल्यो।’ भूकम्पले जिल्लाका ५२ हजारभन्दा बढी घर भत्किएका थिए। घर भत्किएका अधिकांश सर्वसाधारण टहरामा छन्। केही अझै पनि त्रिपालमुनि छन्। बिहीबार दिनभर वर्षा भएकाले किसानले काटेर खेतमा सुकाएको धानसमेत भिजेको छ।

सिन्धुपाल्चोकका लेकाली बस्तीमा भूकम्पपीडितका अस्थायी टहराहरू हिमपातले ढाक्न थालेको छ। त्रिपाल, जस्तापाता र स्याउलाको टहरा एवं गोठमा बसेका भूकम्पपीडित बिरामी पर्न थालेका छन्। पश्चिमी भेगको लेकाली बस्ती मानेखर्कस्थित पाँचपोखरी विकास समितिका अध्यक्ष शंकर लामाका अनुसार हेलम्बु, भोता तथा बरुवामा हिमपात भएको छ। त्यहाँका टहरा सेताम्मै भएका छन्। गर्मीमा समेत चिसो हुने उक्त क्षेत्रमा रुघाखोकी र दमको समस्या देखिएको छ। धुलिखेल अस्पतालको सहयोगमा स्वास्थ्य संस्था सञ्चालन गर्दै आएको समितिले बिरामीको चाप बढेको जनाएको हो। मेलम्ची प्रहरीका अनुसार निरन्तर वर्षाले टहरामा पानी चुहिन र चिसो बढ्न थालेको छ। जिल्लाको पूर्वी भेगको जेठल, तौथली, घोर्थली, चोकटी, गाती, लिस्ती गाउँमा चिसो बढेको छ। बाँकी मध्यभेगको सेलाङ, गोल्चे, गुम्बा, पाङताङ, हगाम, गोल्चे र गुम्बाका बस्तीमा हिमपात भएको छ। धेरैजसो पीडित जस्तापाताको टहरामा छन्। माघमा पर्ने हिउँ कात्तिकमै झरेको पीडितले बताए। जिल्लाका ९० प्रतिशतभन्दा बढी घर भूकम्पले भत्केका छन्। गाउँमा कुनै पनि कच्ची घर सग्लो छैन। भूकम्पबाट सिन्धुपाल्चोकमा ३ हजार ५ सयले ज्यान गुमाएका थिए।

चिसोले रुघाखोकी र ज्वरो

नुवाकोटमा भूकम्पपीडितका टहराभित्र पानी र चिसो छिरेपछि वृद्धवृद्धा, महिला र बालबालिका कठयांग्रिएका छन्। आफन्त गुमाउनुको पीडा त छँदै छ, शिविर र अस्थायी टहरामा थप कष्ट भएको उनीहरूले बताए। त्रिशूली नदीछेउ बस्दै आएका पीडित एकातिर खोलाको चिसो हावा र अर्कोतिर झरीको चिसोले थप मारमा परेको साल्मेका चिर्पु तामाङले बताए। भूकम्पमा परी घाइते साल्मेकी ७० वर्षीया मारु तामाङले चिसोले सताएर ढाड दुख्ने समस्या बढेको बताइन्। ‘बस्ने ठाउँ नहुँदा चिसोले पुरानो रोग बल्झियो,’ उनले भनिन्। भूकम्प पीडित ७२ वर्षीया खेजुमाया तामाङ झरी र चिसोका कारण दम रोगले बिरामी परेकी छन्। टहरामा बस्दै आएका बालबालिकाको किताबकापी समेत झरीले भिजेको छ।

रसुवा हाकुका ४६ वर्षीया कारसाँ डोल्माले चिसोले बालबालिकामा रुघाखोकी र ज्वरोको लक्षण देखिन थालेको बताइन्। सासूससुराको स्याहार गर्दै बसेकी गवन्ती तामाङले चिसो बढदै जाँदा गाउँका पीडितहरू बासको खोजीमा सदरमुकाम झर्न थालेको बताइन्। ‘साँघुरो ठाउँमा चिसो कटाउन कष्टकर जीवन बिताउन बाध्य छौं,’ स्थानीय सुकवीर लामाले भने।

‘जस्तापाता नपाउँदै वर्षा र हिउँ’

धादिङको उत्तरी भेगका भूकम्पपीडितले पनि हिमपातका कारण चिसोले सताएको दुखेसो पोखे। ‘अघिल्लो महिना त्रिपालमा घामको तातोले बस्नै नसक्ने अवस्था थियो,’ रिगाउँ ९ का प्रेम तामाङले टेलिफोनमा भने, ‘अहिले जाडोले सतायो। त्रिपालमा गर्मी हुँदा त बाहिर निस्केर बसिन्थ्यो, अब जोडो कसरी छेक्ने?’ २१ सय मिटर उचाइमा रहेको बस्ती नजिकैको लेकलगायत छिमेकी गाविस लापा र तिप्लिङका अधिकांश बस्तीमा हिमपात भएको छ। जाडो निकै बढेको छ।

सडकले नछोएको उत्तरी धादिङका ५ गाविसमा इन्धन अभाव देखाउँदै विभिन्न संघसंस्थाले पीडितलाई अस्थायी टहरा निर्माणका लागि जस्तापाता वितरण नगर्दा उनीहरूलाई थप समस्या भएको हो। अधिकांश परिवारले पुरानै जस्तापाता र काठ प्रयोग गरेर टाउको लुकाउने व्यवस्था मिलाएका छन्। उत्तरी भेगका अधिकांश घरमुली तथा युवायुवती ढुवानी साधन पुग्ने अन्तिम विन्दु दार्खा फेदीबाट ग्रामीण गोरेटो खन्न गएका छन्। दसैंअगावै विश्व खाद्य कार्यक्रमले सञ्चालन गरेको कामका लागि खाद्यान्न कार्यक्रमको चामल पाउने आशामा उनीहरू यता आएका हुन्। आयआर्जनका लागि हिँडेका अधिकांश पुरुष बस्तीमा फर्केका छैनन्। त्यहाँ महिला र बालबालिका मात्र छन्।

‘कसरी जाडो कटाउने?’

काभ्रे दाप्चा काशिखण्ड १४ की निमोनियाँ र दमबाट पीडित ८० वर्षीया मैया अधिकारीले वर्षासँगै कात्तिकमै एक्कासि बढेको चिसोले पीडा भएको बताइन्। च्याम्राङबेंसीबाट विस्थापित भएर पनौतीमा टहरामा बस्दै आएकी ७८ वर्षीया खड्गमाई तिमल्सिनाले पनि चिसोले समस्या भएको बताइन्। ‘कात्तिकमै चिसो सुरु भो,’ उनले भनिन्, ‘सरकारले ऋण पनि दिएन, अनुदान पनि दिएन, घर बनाउन पनि सकिएन।’

बिहीबारको वर्षाका कारण भूकम्पपीडितको जनजीवन प्रभावित भएको छ। अस्थायी टहरामा बसिरहेका भूकम्पपीडित चिसो बढेसँगै चिन्तित छन्। धान काट्ने समय भएकाले भण्डारण गर्न समस्या भएको पनि उनीहरूले बताए। पाँचखाल ६ होक्सेकी सीता तामाङले ४ महिनाको बच्चासहित पानी चुहिने टहरामा बस्न बाध्य भएको सुनाइन्। ‘छडके पानी पर्दा पुरै जिउ भिज्छ,’ उनले भनिन्, ‘आफू त जेनतेन बाँचिएला, ४ महिनाकी नानी जोगाउनै मुस्किल छ।’

जिल्ला दैवीप्रकोप उद्धार समितिको तथ्यांकअनुसार जिल्लाका ९० हजार घरधुरीमध्ये ८७ हजार २ सय ५३ घर पूर्णरूपमा क्षति भएको थियो। आर्थिक अवस्था कमजोर पीडितहरू अझै त्रिपालमुनि रात काट्न बाध्य छन्।

पानी चुहिएर बस्नै समस्या

लमजुङका भूकम्पपीडितले पनि अस्थायी टहरा र त्रिपालमा पानी चुहिएर र चाडोले बस्न समस्या भएको बताएका छन्। पाचोक २, छैलुङकी मनमाया गुरुङको चिसो मौसममा पनि कपडाले आधा आङमात्रै ढाकेको छ। छोराछोरी पनि त्यही अवस्थामा छन्। ‘भूकम्पले घर लग्यो, छिमेकीले टहरो बनाइदिए,’ उनले भनिन्, ‘जाडो सुरु भो। टहरोमा पानी चुहिन्छ। लालाबाला कसरी पाल्ने?’ दमको रोगले पतिको २ वर्षअघि निधन भएपछि १ छोरा र २ छोरी पाल्ने जिम्मा उनको काँधमा छ। पालनपोषण गर्न नसक्दा ठूलो छोरा आफन्तकोमा पठाएकी छन्। ‘कान्छी छोरी ३ वर्षकी भए पनि हिँड्न सक्दिनन्,’ उनले भनिन्, आफू त जसोतसो होला, छोराछोरीलाई चिसोबाट कसरी जोगाउने?’

झरीले मनमायामात्रै होइन, ७६ वर्षीया बदग्याम गुरुङलाई पनि उत्तिकै सताएको छ। साइँलो छोरासँगै बस्दै आएकी उनी कहिले गोठमा, कहिले टहरोमा बस्छिन्। दुधपोखरी ९, पात्लेका भूकम्पपीडित मौसम सफा भएपछि टहरो छोडेर प्राय: गाउँ झरेको स्थानीय नन्दलाल गुरुङले बताए।

प्रिप्रोँको घर भूकम्पले भत्काएपछि होपीलाल गुरुङ पात्लेस्थित खुसीरामको पिँढीमा बस्छन्। घरको ढुंगा पन्छाएर पिढीँको पर्खाल मर्मत गरी पत्नी र ५ छोराछोरीसहित उनले डेरा बनाएका छन्। ‘टहरो छोडियो, अब त घाम लाग्ला भनेर आएँ। बाबुनानीको बिजोग भयो,’ उनले भने, ‘यही पनि भत्किए कहाँ जाने?’ बुधबार साँझदेखि निरन्तर झरी परेकाले बाहिर निस्कन नसकेको उनले बताए।

पात्लेकै थाप्ले गुरुङको परिवार भने गाउँ झर्न सकेको छैन। गाउँदेखि चित्रेलेक जान १ घण्टा लाग्छ। ‘गाउँमा जाउँ घर छैन। दाताले दिएको टिन लेकमै ल्याएर टहरो बनाएँ,’ उनले भने, ‘टहरो पनि हावाहुरीले उडाउन लाग्यो।’ झरी पर्नासाथ छोराछोरी बिरामी हुन थालेको उनले बताए।

‘कसैले टहरो भत्काएर लगे। कोही छोडेर गाउँ गए,’ उनले भने, ‘हामी ४/५ घर लेकमै छौं। हावाहुरी चलेको छ। उडाए के गर्ने?’ उनले लेकमा बस्ने अन्य परिवारको पनि बिजोग भएको बताए। बिचौर ६, सिम्लेचौरका मनबहादुर भुजेलले भत्किएको घरनजिकै टहरो बनाए।

प्रकाशित: कार्तिक १३, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार