एनअारएन सम्मेलन विशेष

जीवा लामिछाने लेख्छन्- राज्यले दियो, अब हाम्रो पालो

- जीवा लामिछाने, काठमाडौं
द्वन्द्व, राजनीतिक संघर्ष र कठिन संक्रमणमा गुज्रिरहेको मातृभूमिले हामीलाई दिन सक्ने धेरै कुरा दिइसकेको छ । हामीले यो मुलुकको शान्ति, समृद्धि र उन्नतिका निम्ति के कति योगदान गर्न सक्छौं, अब त्यसमा केन्द्रित हुनुपर्छ ।

आश्विन २७, २०७२-विदेशमा संघर्ष गरेर हामीले आआफ्नै तरिकाले बाँच्ने जिन्दगीको बाटो त बनायौं, तर त्यो बाटो हाम्रो आफ्नो माटोमा बनेको थिएन । विदेशी माटोमा बनेको त्यो बाटो सधैं सुरक्षित होला भन्ने पनि हामीलाई लागेन । त्यही भावनावश संसराभरि छरिएर रहेका नेपालीमा विदेशी माटोमा पसिनाले हुर्काएको विरुवा स्वदेशमै फलाउने—फुलाउने जागरण आयो । तर यो काम सहज थिएन । यसका लागि ठूलो अभियान र संगठन चाहिन्छ भन्ने हामीलाई बोध भयो । करिब डेढ दशकअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियान सुरु गर्दा मनमा अथाह कल्पना र उत्साह थियो । त्यो उत्साह र कल्पनालाई योजनाबद्ध तरिकाले व्यावहारिक बनाउने सपना थियो । सँगसँगै केही अन्योल र आशंकाका बादल पनि थिए ।

आफ्नो थातथलो छोडेका र कतिपयले विविध कारणवश उतैको नागरिकतासमेत लिएका विश्वभरि छरिएका नेपालीलाई एउटै चौतारीमा गोलबन्द गर्न खोज्नु पक्कै पनि सामान्य कुरा थिएन । तर हामीले साहस गर्‍यौं । यो अभियानलाई सकारात्मक रूपमा लिएर आजैबाट केही गरौंन भन्ने मित्रहरू भेटिन्थे । कोही ठीकै छ, गरौंला भन्थे र आफ्नो काममा फर्कन्थे । अनि पर्सिपल्ट सोध्यो भने त्यो पुन: नयाँ विषय बन्थ्यो । तैपनि यो अभियानको दायरा फराकिलो बन्दै गयो । र आज यसले विश्वव्यापी सांगठनिक सञ्जाल बुनेको छ । आज यस संस्थाले विश्वभरका नेपालीबीच विश्वास र पहिचान स्थापित गर्नसकेको छ । स्वदेशमा केही गर्न सकिन्छ भन्ने कुरा व्यवहारबाटै प्रमाणित गर्दैछ । र राष्ट्र निर्माणको एउटा सशक्त हिस्सेदार बन्न सक्छौं भन्ने कुरा स्थापित गर्ने बाटोमा अगाडि बढेको छ ।

संसारभरि छरिएर रहेका सबै जाति, भाषा, क्षेत्रका नेपाली दाजुभाइ, दिदीबहिनीलाई समेट्ने असम्भवजस्तो लाग्ने लक्ष्य बोकेर १३ वर्षअघि स्थापना भएको यस संस्थाले आज विश्वका ७१ देशमा आफ्ना शाखा विस्तार गरेको छ । मातृभूमिको शान्ति र समृद्धिका लागि नेपालमै केही गरौं भन्ने पवित्र भावनालाई नेपालीहरू भएका ठाउँसम्म पुर्‍याउन सकियो भने यो अभियान यसरी नै फैलिनेछ भन्ने कुरामा हामीलाई शंका थिएन । विश्वका अन्य कुनै गैरआवासीय नागरिकहरूको यति विस्तारित संगठन छैन । यो हाम्रालागि निकै ठूलो गर्वको कुरा हो ।

विदेशमा व्यापक रूपमा फैलिँदै गए पनि नेपालमा भने लामो समय हामीले संगठनलाई वैधानिक हैसियत दिलाउन संघर्ष गर्नुपर्‍यो । हाम्रो निरन्तर प्रयासपछि २०६४ सालमा गैरआवासीय नेपाली ऐन आयो र संघ दर्ताका लागि कानुनी बाटो खुल्यो । तर हामीले संस्था स्थापना गर्दा अपनाएका परिभाषा र मापदण्ड ऐनसँग ठ्याक्कै मिल्न नसक्दा दर्ता प्रक्रियाले थप अन्योल बेहोर्‍यो । संस्थाको वैधानिक हैसियत महत्त्वपूर्ण पक्ष थियो । हामीले निकासका लागि एउटा मध्यमार्गी उपाय अपनायौं र तत्काल हाम्रो विधानलाई ऐनअनुरूप संशोधन गर्ने निर्णय गर्‍यौं र दुई वर्ष अघि संघ औपचारिक रूपमा दर्ता हुनपुग्यो ।

लामो प्रयासपछि गैरआवासीय नेपाली संघले वैधानिकतामात्र पाएको छैन, स्थायित्व र अविच्छिन्नतासमेत सुनिश्चित गरेको छ । हामी एउटा स्थायी संस्थाका सदस्य भएका छौं । संस्थासँगै त्यसमा आबद्ध गैरआवासीय नेपालीहरूलाई समेत राज्यले पहिचान तथा सम्मान दिएको छ । थुप्रै कानुनी, नीतिगत र व्यावहारिक मुद्दाहरू नेपाल राज्यका तर्फबाट सम्बोधन गराउन संघ सफल भएको छ ।

हामीले मातृभूमिसँग जोडिएको हाम्रो पहिचान पुन:स्थापित गर्न सक्यौं । संविधानसभाबाट जारी भएको नेपालको संविधानले हामीलाई गैरआवासीय नेपाली नागरिकता लिनसक्ने व्यवस्था गरिदिएको छ । ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने हाम्रो मूल मर्म बमोजिम यो नआएको भए तापनि हामीले यसलाई अत्यन्त सकारात्मक कदमका रूपमा लिएका छौं । यो व्यवस्थाले हाम्रा सन्ततिहरूको समेत मातृभूमिसँगको सम्बन्ध अटुट राख्ने बाटो खुलेको छ र तिनलाई समेत आफ्ना पुर्खाको जन्मभूमिप्रति थप जिम्मेवार बनाउनेछ । द्वन्द्व, राजनीतिक संघर्ष र कठिन संक्रमणमा गुज्रिरहेको मातृभूमिले हामीलाई दिनसक्ने धेरै कुरा दिइसकेको छ । हामीले यो मुलुकको शान्ति, समृद्धि र उन्नतिका निम्ति के कति योगदान गर्न सक्छौं, अब त्यसमा केन्द्रित हुनुपर्छ । व्यक्तिगत रूपमा हाम्रा आफ्नै सीमितता भए पनि विश्वव्यापी सञ्जाल र सम्बन्धहरूका कारण योगदान गर्नसक्ने क्षमता र सम्भावना प्रशस्त छन् ।

गत वैशाखमा गएको विनाशकारी भूकम्पमा गैरआवासीय नेपालीहरूको विश्वसनीयता र शक्ति अनुभूत गर्न पाइयो । संस्थाको छोटो समयको आह्वानमा विश्वभर छरिएका असंख्य गैरआवासीय नेपालीहरू नेपालीको घाउमा मल्हम लगाउन जुर्मुराए । अध्ययन, जागिर, व्यवसाय छाडेर आए । आउन नसक्नेहरूले आ–आफ्नो ठाउँबाट सहयोग गरे । संस्था, संगठन परिचालन गरेर भए पनि स्रोतसाधन जुटाएर गैरआवासीय नेपाली संघमार्फत नेपालमा सहयोग रकम र राहत सामग्री पठाए । गैरआवासीय नेपाली संघले स्थापना गरेको कोषमा योगदान गरे ।

यो संगठनमा आबद्ध भएर आफ्नो मुलुकका लागि केही गर्नुपर्छ भन्ने जुन भावना गैरआवासीय नेपाली समुदायमा सधैं थियो, त्यसलाई विनाशकारी भूकम्पपछि अझ बलियो र विस्तारित भएको छ † यो हाम्रो ठूलो पुँजी हो ।

नेपालमा गर्नुपर्ने काम धेरै छन् । अभावका पक्षहरू अनगिन्ती छन् । त्यसकारण यहाँ अपेक्षा पनि धेरै छ । हामीले यहाँ देखिनेगरी धेरै काम गर्नसकेका पनि छैनौं । साथै यो पनि स्वीकार गर्नुपर्छ, गैरआवासीय नेपालीहरूसँंग जति धेरै अपेक्षा गरिएको छ, त्यस अनुरूप सामाजिक र आर्थिक क्षेत्रमा लगानी र योगदान गर्नसक्ने हैसियत पनि हाम्रो बनिसकेको छैन । फेरि गैरआवासीय नेपाली संघ एउटा मञ्चमात्र हो, जो आफैं लगानी गर्न सक्दैन । यसले लगानी र सामाजिक क्षेत्रमा योगदान गर्नसक्ने समुदायका लागि वातावरण बनाउन सक्छ, छरिएर रहेको ससाना क्षमतालाई समेट्न सक्छ । संस्थाको सञ्जाललाई प्रयोग गरेर प्रबद्र्धनात्मक अभियान चलाउन सक्छ ।

हामीले परीक्षणका रूपमा सामूहिक लगानीको अभियान सुरु गरेका छौं । सोही योजना अनुरूप सन् २०१७ भित्र निर्माण सम्पन्न गर्नेगरी लमजुङको दोर्दी खोलामा २७ मेगावाटको जलविद्युत आयोजना सुरु भएको छ । यो ठूलो परियोजना नभए पनि यसले हाम्रो परीक्षणलाई उपयोगी र सफल हुने आधारहरू देखाएको छ । भर्खरै मात्र म लगायत अरू पनि गैरआवासीय नेपाली साथीहरू आबद्ध सानिमा समूहद्वारा निर्मित २२ मेगावाटको जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । अर्को ७ मेगावाटको आयोजना आगामी पुस महिनासम्ममा प्रसारण लाइनमा जोडिनेछ । अहिलेको अभावजन्य अवस्थमा यो धेरै ठूलो योजना होइन, तर यसले गैरआवासीय नेपालीहरूको नेपालमा केही योगदान गर्नुपर्छ भन्ने चाहना र सम्भावनालाई उजागर गरेको छ । कतिपय साथीहरूले व्यक्तिगत रूपमा पर्यटन, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा लगानीलाई विविधीकरण र विस्तारित गर्ने काम थालेका छन् ।

धेरै जिल्लामा सामूहिक लगानीका असंख्य ससाना परियोजनाको नेतृत्व गैरआवासीय नेपाली साथीहरूले गरिरहेका छन् । सीमित क्षेत्रमा, सीमित स्रोतसाधनमा विश्वका विभिन्न ठाउँमा व्यवसाय गरिरहेका गैरआवासीय नेपालीहरूले आफ्नो व्यवसायलाई विविधीकरण वा विस्तार गर्नुपर्दा पहिलो गन्तव्यका रूपमा नेपाललाई नै रोजिरहेका छन् ।

नेपाली डायास्पोराको इतिहास त्यति लामो छैन । ०४६ सालसम्म हामी करिब—करिब बन्द समाज र व्यवस्थाभित्र थियौं । २०४६ सालको जनआन्दोलन र ०४७ सालको संविधानले दिएको खुलापनसँगै हामी विश्व बजारमा छरियौं । अध्ययन र अवसरका नयाँ—नयाँ ढोका चहार्दै जहाँ—जहाँ पुग्यौं, त्यहाँ हाम्रो पहिलो पुस्ताले निकै संघर्ष गर्‍यो ।

हामी आफंै पनि आ–आफ्नो ठाउँमा स्थापित हुनका लागि गर्नुपरेको संघर्षको कथा बेग्लै छ । यति हुँदाहुँदै पनि हामीले विश्वभर छरिएका नेपालीलाई एउटै मञ्चमा आबद्ध गर्ने, त्यो एकीकृत शक्ति र भावनालाई आफ्नो मातृभूमिप्रति समर्पित गर्ने प्रयास थाल्यौं । हामीले काम गर्दा प्रशस्तै जटिलता पनि बेहोर्‍यौं । सम्पर्क, सम्बन्ध र विश्वासको दायरा सीमित थियो । तैपनि यसको संगठन निर्माण, परिचालन र विस्तारमा धेरै देशमा रहेका समर्पित अग्रजहरू र साथीहरूको अथक प्रयास रह्यो । उहाँहरूकै दूरदर्शिताले विश्वभरि फैलिएको जटिल भौगोलिक विविधता बोकेको सांगठनिक संरचना भएको संघले सबै क्षेत्रको प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ, नेतृत्वमा आवधिक नवीनता ल्याउने र अग्रजहरूको सम्मान गर्ने परम्परा स्थापित भएको छ । गैरआवासीय नेपाली संघमा आबद्ध सबै साथीहरूलाई दाजुभाइ, दिदीबहिनीको भावनात्मक नाताले जोडेको हुनाले नै यो यति एकताबद्ध र विस्तारित हुनसकेको हो । हामीले यो परम्परालाई निरन्तरता दिनसकेमात्र संगठन सुदृढ र हाम्रो उद्देश्य पुरा हुनसक्छ । आज यो संस्था जसरी विश्वव्यापी सञ्जालको रूपमा झाँगिएको छ र संसारभरका गैरआवासीय नेपालीको एकमात्र साझा संस्थाको परिचय बनाएको छ, त्यसले विगतका सारा दु:खहरूलाई बिर्साउँछ । अझ अर्को पुस्ता जसरी सशक्त र परिपक्व भएर देखा पर्दैछ, त्यसले झन् धेरै आशा, अपेक्षा, सम्भावनाको संकेत देखाएको छ ।

हामीले आफ्नो परिचय स्थापित गर्न, संगठन विस्तार गर्न, नेपाली हुनुको विशेष पहिचान हासिल गर्न र नीतिगत सहुलियतहरूका लागि आवाज उठायौं । हाम्रा सम्पूर्ण अपेक्षा पुरा नभए पनि अधिकतम पुरा भएका छन् । राज्यका तर्फबाट पाउनुपर्ने कुरा पाइसकेपछि अब दिने पालो हाम्रो भएको छ । अब हाम्रो पहिचान, स्वाभिमान र सम्मान हाम्रै हातमा छ । अमेरिकाका पूर्वराष्ट्रपति जोन एफ. केनेडीले एकपटक भनेका थिए, ‘देशले तिमीलाई के दियो भन्दा पनि देशलाई तिमीले के दिन सक्छौ भन्ने सोच’ । आज हामी यो हैसियतसम्म आइपुग्न हाम्रा बुबाआमा, आफन्तजन, गुरु वर्ग, हाम्रो समाज र मातृभूमिको निक्कै ठूलो योगदान रहेको छ । हामीले आर्जन गरेको सफलतामा हाम्रो मातृभूमिको पनि अधिकार रहन्छ ।

अन्त्यमा,

गैरआवासीय नेपाली संघको सातौं अन्तर्राष्ट्रिय सम्मेलनको अवसरमा काठमाडौंमा भेला हुनुभएका साथीहरूले दुइटा पक्षमा ध्यान केन्द्रित गर्न अनुरोध गर्दछु । पहिलो, नयाँ संविधान निर्माणसँगै नेपाल अब शान्ति र उन्नतिको पथमा अग्रसर भएको छ । त्यो यात्रालाई सफल बनाउन हामीले संसारभरिबाट थुप्रै साधनस्रोत जुटाएर, आफ्नो ज्ञान र सीप लगाएर ठूलो उत्साहका साथ हातेमालो गर्नुपर्छ । नेपालले हामीबाट यही भूमिका अपेक्षा गरेको छ । अब उप्रान्त हुने हाम्रा सबै सम्मेलन र भेलाहरू मूलत: यसै कुरामा केन्द्रित हुनुपर्छ । दोस्रो, हाम्रो मातृभूमि इतिहासको अत्यन्त कठिन मोडमा उभिएको यस घडीमा काठमाडौंमा सयौंको संख्यामा हुने हाम्रो उपस्थितिले आशा, विश्वास र भरोसको सञ्चार गर्न सक्नुपर्छ । हाम्रो चर्को आन्तरिक प्रतिस्पर्धाले त्यो भरोसा नटुटोस् भन्ने कुरामा अत्यन्त संवेदशील हुन आग्रह गर्दै सम्मेलनको सफलताको कामना गर्दछु ।

लामिछाने, गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष हुन् ।

प्रकाशित: आश्विन २७, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार