एनअारएन सम्मेलन विशेष

[विचार] एनअारएन पैसा हुनेहरुकाे मात्र हाे ?

- रामचन्द्र गिरी, क्वालालम्पुर

आश्विन २२, २०७२-हरेक दुई/दुई बर्षमा हुने गैर आवासीय नेपाली संघको विश्व सम्मेलनमा प्रमुखतया वातावरण भए सामूहिक लगानी भित्र्याइनेदेखि देशको मुहार फेर्ने सम्मको चर्चा हुने गरेको छ । दोहोरो नागरिकता र खुला विश्वविद्यालयजस्ता विषयपनि यसअघिका सम्मेलनमा बढी केन्द्रित थिए । यीमध्ये नागरिकताको मुद्दा हालै जारी नयाँ संविधानमा समाहित भइसकेको छ ।

हो, देश बनाउने र देशको मुहार फेर्ने जस्ता धेरै ठूला–ठूला विषयमा बहस हुने यो संस्थाका डा. उपेन्द्र महतो, जीवा लामिछानेहरु बलिया खम्बाहरु हुन्  । तर बुझ्नुपर्ने के छ भने, २ बर्ष भन्दा बढी समय विदेशमा रही काम या व्यवसाय गरेका लाखौं नेपालीहरु पनि खम्बाका आधार हुन् । किनकी ती नभइदिएको भए संघको स्थापना नै हुने थिएन ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र उनीहरुका समस्याको समाधानका लागि यसअघि पनि पटक–पटक बहस नभएका होइनन् । सबैलाई अवगत नै छ, ‘नेपालीका लागि नेपाली’ भन्ने फराकिलो नारा र परिभाषाभित्र रहेकामध्ये धेरैजसो खाडीका मुलुक र मलेसियामा छन् ।

एनआरएन सम्मेलनमा प्रस्तुत हुँदै आएका केही प्रमुख मुद्दाबाहेक कतिपय मुद्दाले अझैसम्म सफलता पाउन सकेको छैन । तीमध्येको एक हो, संघको परिभाषा र नाराले समेटिने श्रमिक मुद्दा (गैरआवासीय श्रमिकका मुद्दा) । यसबारे विविध प्रश्नहरु उठ्ने गरेका छन् । सार्क र भारतबाहेकका मुलुकमा दुईबर्ष भन्दा बढी बसेर पसिना बगाइरहेकाहरुका लागि के गरेको छ त ? दु:ख पाएका, समस्यामा परेका कामदारको हितका लागि घोषणा गरिएको कल्याणकारी कोष किन अझै पूरा भएन ? एनआरएनले विदेशमा रहेका नेपाली श्रमिकलाई हेर्ने धारणा के हो ?, के पैसा हुनेहरु वा पैसा खर्चनेहरु मात्र एनआरएन हुन् ? श्रम र पसिना खर्चनेहरु एनआरएन होइनन् ? आदि यक्ष प्रश्नहरु छन् ।

कामभन्दा बढी कुरा गर्ने आरोप लाग्दै आएको यस संस्थाको यसपालीको विश्व सम्मेलन नजिकिंदै गर्दा यसअघि उठेका तर असफल भएको श्रमिकका मुद्दाबारे संघ निकै गम्भीर हुनुपर्ने बेला आएको छ । हुन त यसअघिका दुई विश्व सम्मेलनमा सुरक्षित बैदेशिक रोजगार र कल्याणकारी कोषको विषय सहायक मुद्दाको रुपमा उठाइएको थियो । तर यी मुद्दालाई सफल बनाउन त्यतिबेलै गठन गरिएको ‘माइग्रेन्ट टास्क फोर्स’ (आप्रवासी सुधार दल) पनि उद्देश्यअनुरुप सक्रिय हुन नसक्नु दुर्भाग्य हो ।

केही देशमा रहेका संघको एनसीसीले गरेका कतिपय सकारात्मक कामलाई केहीबेर विर्सने हो भने अझैपनि कोठे बैठक, गोष्ठी, चर्को खर्चमा पाँचतारे होटलमा हुने सम्मेलनबाहेक एनआरएनबाट आप्रवासीश्रमिकले अपेक्षित सहयोग पाउन सकिरहेका छैनन् । त्यसैले संघकै भनाईमा बहुसंख्यक श्रमिकहरुको पक्षमा आफुलाई उभ्याउन एनआरएन असफल भएको छ । स्मरणीय छ, यसअघिका सम्मेलनमा श्रमिकका मुद्दा पटक–पटक उठेका भएपनि ती मुद्दा कसैका लागि संघको केन्द्रमा पुग्ने माध्यम बने भने कसैका लागि चर्चाका हतियार पनि । बिडम्बना, श्रमिकका हितमा ठोस काम हुन सकेन ।

यिनै विगतबीच यही असोज २७ गतेदेखि हुन लागेको सातौं विश्व सम्मेलनमा आप्रवासी श्रमिकका मुद्दा (गैर आवासीय नेपाली श्रमिक) को सम्बोधन र त्यसपछि महत्वपूर्ण मानिएको यथोचित कार्यान्वयन अर्को अपेक्षित मुख्य पक्ष बनेको छ । संघका लागि श्रम, पसिना, समय खर्चेका श्रमिकका लागि यसपाली केन्द्रीय समितीका विभिन्न पदमा उम्मेद्वारी दिएकाहरुमध्ये थोरैले मात्र श्रमिकका मुद्दा उठाउने घोषणा गरेका छन् । ती घोषणा फेरि पनि केन्द्र वा नेतृत्वमा पुग्ने भर्‍याङमात्र बन्ने हो या साँच्चिकै श्रमिकका बलियो सहारा भन्ने हेर्न बाँकी नै छ ।

यद्यपी संस्थाको परिभाषाभित्र परेका लाखौं नेपाली श्रमिकलाई एनआरएन पैसा हुनेहरु मात्र एनआरएन हुन् भन्ने भ्रमबाट हटाउन उनीहरुका समस्या समाधानमा अग्रसर हुनु जरुरी छ । श्रमिकका मुद्दालाई पनि पुन निर्माण र लगानीको जस्तै प्रमुख मुद्दा बनाइनुपर्दछ । अब चुनिने नेतृत्वले पनि ७० देशमा राष्ट्रिय संञ्जाल विस्तार गरिसकेको संघलाई श्रीमकमाझ हाम्रो र राम्रो बनाउन कल्याणकारी कोषको उद्देश्य पूरा गर्नु अति नै आवश्यक छ ।

त्यसबाहेक, सरोकारवाला र सरकारसित समेत समन्वय गर्ने गरि ‘माइग्रेन्टस् कोअर्डिनेशन कमिटी’ निर्माण गरी दु:खमा परेका श्रमिकको उद्धार गर्नुपर्दछ । नत्र ‘नेपालीका लागि नेपाली’ भन्ने नारा राखीरहनुको औचित्य अपुरो हुनेछ ।

प्रकाशित: आश्विन २२, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार