अर्थ / वाणिज्य

रक्सौलमा मालवाहक गाडीको लाइन

- कान्तिपुर संवाददाता, पर्सा

भाद्र २, २०७२-बन्दका कारण नियमित जाँचपास नभएपछि सीमावर्ती सहर रक्सौलदेखि रमगढवासम्म विभिन्न सामान बोकेर मुलुक भित्रिने ट्रकको १५ किलोमिटर लाम लागेको छ।

ती गाडीका कारण आवागमन प्रभावित भएपछि समस्या समाधानका लागि आग्रह गर्न भारतीय रक्सौल कस्टमका इन्सपेक्टरहरू अभिषेक कमल, सतीश कुमार र अभयकुमार दत्ताको टोली मंगलबार वीरगन्ज भन्सार प्रमुख मित्रलाल रेग्मीलाई भेटन नै आए। उनीहरूले कार्यालय प्रमुखसित नेपालमा जारी बन्द कहिलेसम्म चल्छ? भनी जिज्ञासा राखेका थिए।

इन्सपेक्टर अभिषेकले मालवाहक गाडीको चापले आफूहरूलाई भन्सारको कार्यसम्पादनमा समस्या भएको गुनासो गरे। अहिले सीमावर्ती भारतीय बजार रक्सौल मात्र नभई वीरगन्ज भन्सारतर्फ पनि गाडीको लाम छ। मुख्य सडकदेखि भन्सारको यार्डसम्म गाडीले भरिएका छन्।

‘बन्द नहुँदा मालवाहक गाडी जाँचपास गर्दै बाहिरिन्थे,’ भन्सार प्रमुख रेग्मीले भने, ‘अहिले हडतालका कारण जाँचपास गराएका छैनन्, भिड थामी नसक्नु छ।’ अत्यधिक भिड रहने वीरगन्ज भन्सार ४ दिनयता सुनसान छ। आयातकर्ताले बन्दका कारण मालसामान जाँचपास गराई नलगेका कारण राजस्व असुली खस्कँदै गएको छ। अहिले दैनिक सरदर ७ देखि १० करोड रुपैयाँ मात्र राजस्व संकलन हुँदै आएको छ।

आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा भन्सारले मुस्किलले राजस्व असुली लक्ष्य भेटाएको छ।

साउनमा ७ अर्ब २२ करोड ९४ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन लक्ष्य रहेकामा ११ करोड ३६ लाख ७२ हजार ८ सय ७४ रुपैयाँ बढी अर्थात् ७ अर्ब ३४ करोड ३१ लाख ३१ लाख ३ हजार ८ सय ७४ रुपैयाँ राजस्व संकलन भएको भएको छ। लक्ष्यभन्दा १ दशमलव ५७ प्रतिशत बढी हो।

संकलित राजस्वमा सवारी साधनको योगदान बढी छ। इन्धनको मूल्य घटेकाले इन्धनबाट राजस्व कम संकलन भए पनि यसको आयात परिमाण नघटेकाले मासिक राजस्व असुली लक्ष्य भेटाउन सहज भएको रेग्मी बताउँछन्। भदौमा ८ अर्ब ८२ करोड ५० लाख २८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेको छ।

बन्द र हडताल शृंखला लम्बिए असुली लक्ष्य भेटाउन समस्या पर्नेछ।

प्रकाशित: भाद्र २, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार