मनोरञ्जन

घुम्ती फिल्म फेस्टिभल

- कान्तिपुर संवाददाता, काठमाडौं

 घुम्ती फिल्म फेस्टिभल

जेष्ठ ८, २०७२-

फिल्मले मनोरञ्जन मात्रै हैन, सूचना, शिक्षा र अभिप्रेरणा पनि दिन्छ। यसबाहेक मनोवैज्ञानिक काउन्सिलिङको लागि यो अर्को प्रभावशाली माध्यम मानिन्छ। भूकम्पपीडित बस्तीमा फिल्ममार्फत मनोवैज्ञानिक परामर्श गर्ने उद्देश्यले यति बेला केही स्वतन्त्र फिल्मकर्मीहरूले घुम्ती फिल्म फेस्टिभल घोषणा गरेका छन्। शुक्रबार साँझ राजधानीको टुँडिखेलबाट सुरु हुने फेस्टिभल काभ्रे हुँदै विभिन्न भूकम्पपीडित जिल्लाहरूमा लैजाने आयोजक मिडिलवे फिल्मस्ले जनाएको छ।

‘यति बेला मानिसहरूलाई भय र त्रासबाट बाहिर निकाल्नु जरुरी छ, यसो भयो भने मात्रै निर्धक्क पुनर्निर्माणमा लाग्न सक्छौं,’ मिडिल वेका म्यानेजिङ डाइरेक्टर तथा डकुमेन्ट्री मेकर मोहन राईले भने, ‘धनजनको ठूलो क्षतिबाट मानसिक आघातमा परेकाहरूलाई फिल्ममार्फत मनोवैज्ञानिक राहत दिलाउन खोजेका हौं।’

भूकम्प प्रभावित थलोहरूमा पुगेर प्रभावितकै माझ फिचर तथा डकुमेन्ट्री फिल्महरू नि:शुल्क प्रदर्शन गर्ने फेस्टिभल सञ्चारकर्मी भोजराज भाटको डकुमेन्ट्री ‘सुनाकली’ बाट बिहीबार सुरु हुनेछ। साँझ ५ बजेपछि खुल्ला स्थानमा पर्दा टाँगेर देखाइने फेस्टिभल टोली त्यसपछि शनिबार काभ्रेको बालुवापाटी पुग्ने छ। यसपछि सिन्धुपाल्चोक, दोलखा, धादिङ, गोरखा लगायत अतिप्रभावित थलोमा फेस्टिभल पुर्‍याउने मोहनले जनाए। ‘फेस्टिभलमा देखाइने फिल्महरू स्वस्थ्य मनोरञ्जन, हौसला तथा रिकभरी प्रक्रियाका लागि चाहिने सूचना प्रदान गर्ने र भूकम्पले उत्पन्न गरेको तनावलाई कम गर्ने खालका हुनेछन्,’ मोहनले भने।

फेस्टिभलका लागि भने एक दर्जन फिल्म छानिएको छ। जसमा नवीन सुब्बाको ‘नुमाफुङ’, छिरिङ रितार शेर्पाको ‘कर्मा’, रामबाबु गुरुङको ‘कब्बडी’, मोहन राईकै ‘जर्नी टु थिएटर’, फूलमान वलको

‘सेलफोन’, हरि थापाको ‘शेर्पा : ट्रु हिरोज अफ माउन्ट एभरेस्ट’, शान्ति लामा र ज्ञानु लामाको ‘म्हेन्दोमाया’, डा. तोशिआकी इतोहको ‘कठपुतली’ लगायतका फिल्म तथा डकुमेन्ट्री रहेका छन्। फेस्भिलमा यी फिल्मसँगै भूकम्प र यसपछिको रिकभरी प्रक्रियासम्बन्धी जानकारीमूलक पीएसए र वृत्तचित्र पनि देखाइने बताइएको छ।

प्रकाशित: जेष्ठ ८, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार