समाचार

आगलागीको घाउ नसुक्दै भुइँचालोको पीडा

- राजकुमार कार्की, राताटार (सिन्धुली)

वैशाख ३०, २०७२-

दिउँसोको चर्को घाम लागेपछि जस्तापाताको अस्थायी टहरोमा सावित्रा राई र उनका लालाबाला बस्नै मान्दैनन्। ‘जस्ता तातेपछि पोल्छ, नानीहरू न कराउन थाल्छन्, त्यही भएर भग्नावशेष रहेको घरमै जानुपर्छ’, सावित्राले भनिन्, ‘अरू उपाय केही छैन।’ भत्किएको घरबाटै जस्ता निकालेर बारीको पाटामा बनाएको टहरोमा बस्दाबस्दै उनकी ८ वर्षकी छोरी र १० महिनाका छोरा बिरामी परेका छन्। दुवैलाई अत्यधिक ज्वरो आएको छ।

यसअघि ०७० साल चैत २८ गते भएको आगलागीमा परेर उनको घर नष्ट भएको थियो। आगलागीमा परेर खरानी भएको घरको पीडा भुलाउन ५ लाख लगाएर चिरिच्याट्ट परेको घर बनाएकी सावित्रालाई नानीहरूको उपचारमा जुट्ने कि घर निर्माणका लागि काम गर्ने भन्ने चटारो परेको छ।

काखे नानीसहित भग्नावशेष घरमै बसिरहेकी सावित्रा बारीको पाटामा भूकम्पबाट जोगिन जाँदाजाँदै घर गल्र्याम्म ढल्यो। ‘भूकम्प आएको थाहा पाएपछि लरखरिंदै छोरा च्यापेर बाहिर निस्केको मात्र थिएँ, धेरै परिश्रमले बनाएको घर धूलो बनेर उड्यो,’ पीडाको आँसु बगाउँदै उनले भनिन्, ‘आगलागीमा परेर खरानी भएपछि ऋण काढेर घर बनाएका थियौं, दैवले सहेन।’

राताटार गाउँका सबैजसोले भत्किएको घरबाट जस्तापाता झिकेर बारीको पाटामा अस्थायी टहरा बनाएका छन्। तर त्यो टहराले न घाम छेल्छ, न पानी। शिविरमा बस्दा गाउँका बालबालिका र वृद्धवृद्धा सबैजसो बिरामी परेका छन्। ‘हामीलाई खाना र नाना होइन, तत्काल घर निर्माण गरिदिनुपर्‍यो,’ सावित्राले भनिन्, ‘भोकै बस्न ब सकिंदो रहेछ, तर बस्ने बास नभएपछि झन् बढी पीडा हुँदो रहेछ।’

सावित्राका श्रीमान् नेपाली सेनामा कार्यरत छन्। भूकम्प आएपछि दुई दिनको बिदा मिलाएर आएका उनले सावित्रा र छोराछोरीलाई बारीको पाटामा जस्ताले छाएर अस्थायी टहरो निर्माण गरिदिए र काममा फर्किए। ‘घाम लागेको समयमा टहरोमा बस्नै सकिंदैन, हावाहुरी र पानी पर्दा सबै भित्र छिर्छ, साहै्र बिजोक भयो,’ उनले सुनाइन्, ‘सरकारले ऋण दिए पनि घर निर्माण सजिलो हुन्थ्यो।’ यस्तै, आगलागीमा परी जलेको घर निर्माण गरेको वर्ष दिनमै भीमेश्वर ३ राताटारका गणेशबहादुर राईलाई फेरि अर्को पीडा थपिएको छ। घर बनाउन लिएको ऋण तिरिनसक्दै भूकम्पमा परी घर पूरै भत्किएको छ। एक वर्षअघिको आगलागीबाट राताटारका १६ घर जलेका थिए। तीमध्ये गणेशबहादुरका दुई घर थिए।

‘आगलागीको पीडा बल्लतल्ल भुल्दै थियौं, फेरि अर्को पीडा थपियो,’ उनले भने, ‘नयाँ घर निर्माण गरेको ऋण तिरेकै छैन, फेरि घर स्वाहा भयो।’ उनले झन्डै १० लाख लगाएर घर बनाएका थिए। शनिबारको पहिलो भूकम्पले नै राताटारका ५६ घर ढलेका छन्। आगलागीमा परेर पुन: घर बनाउने बाहेककालाई समेत भूकम्पले छाडेको छैन।

राताटार यतिखेर उजाड छ। कसैको घरगोठ बाँकी छैनन्। खुर्कोटको बीपी राजमार्गबाट झन्डै आधा घण्टाको ठाडो उकालो पार गरेपछि पुगिने राताटारका बासिन्दा सबैलाई शोक परेको छ। ‘दैव पनि कति निष्ठुरी हँुदो रहेछ,’ ६२ वर्षीय गणेशबहादुरले भने, ‘अन्नपात, लत्ताकपडा केही झिक्न पाइएन, सबैजसो माटोको धूलो भएर उड्यो, केही पुरियो।’

राताटारवासीले ०४५ सालको भूकम्पमा समेत क्षति बेहोरेका थिए। त्यतिखेरको भूकम्पका भुक्तभोगी गणेशबहादुर भन्छन्, ‘त्यो भूकम्पले पनि हामीहरूको घर भत्काएको थियो, तर लामो समय भएकाले आगलागीबाहेक अर्को पीडा थिएन तर अहिले त बर्सेनि नै भयो। यस्तो पीडा कसैले बेहोर्नु नपरोस्।’

राताटारका आगलागी पीडित सबैले जसोतसो गरेर एक वर्षको अवधिमा घर ठड्याएका थिए। तर, आगलागीको घाउ नसुक्दै भूकम्पको पीडा थपिएको छ। गाउँमा बिरामीको संख्यासमेत बढेकाले स्थानीय थप चिन्तित बनेका छन्।

राताटारमा भेटिएका शिक्षक संगठनका अध्यक्ष टीकाप्रसाद देवकोटाले राताटारलाई भूकम्पले गोरखाको बारपाकजस्तै बनाए पनि कसैले पनि चासो नदिएको बताए। ‘राजमार्गबाट नजिक भएरसमेत कसैको आँखा नपरेकोमा पीडा माथि पीडा थपिएको छ।’ उनले भने। तत्काल घर निर्माणमा सरकारी चासो हुनुपर्ने उनले बताए। राहतका नाममा विभिन्न संघसंस्थाले चामल, चिउरा, चाउचाउ, दालमोठ त ल्याए पनि आफूहरूको प्रमुख आवश्यकता छाना नै भएको राताटारवासीको भनाइ छ।

प्रकाशित: वैशाख ३०, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार