विचार/विश्‍लेषण

छोरीको स्वागत

- प्रभा बराल, काठमाडौ
छोरीको स्वागत
छोरीलाई छोरासरह सन्तानको रूपमा हेर्नेहरू बिस्तारै बढे पनि छोराप्रतिको मोह भने पटक्कै घटेको देखिँदैन ।

असार १३, २०७१-केही साताअघि कान्तिपुरमा प्रकाशित एउटा समाचारले मन प्रफुल्लित बनायो । भारतको विहार राज्यको एउटा गाउँमा छोरी जन्मिने बित्तिकै छोरीको स्वागतमा १० वटा फल लाग्ने वृक्ष रोपेर हर्षबढाइँ गरिने रहेछ । छोरीको हुर्काइसँगै ती वृक्षहरू पनि बढ्दै जाने रहेछन् र समयसँगै त्यसमा लाग्ने फलको बिक्रीबाट छोरीको पालनपोषण शिक्षादीक्षा अनि विवाहमा सघाउ पुग्ने रहेछ ।

धेरै वर्ष अघिसम्म उक्त गाउँमा दाइजोका कारणले छोरीको हत्यासम्म गरिने अमानवीय व्यवहारले अत्यन्त पीडाबोध भएर वैकल्पिक उपाय खोजिएको रहेछ । सन् २०१० मा पहिलोपटक एक स्थानीय पत्रिकाले यस सुन्दर परम्पराका बारेमा समाचार लेखेपछि तत्कालीन मुख्यमन्त्री नितिश कुमारले समेत उक्त कार्यको प्रशंसा गर्दै अन्य राज्यमा पनि यस्तो कार्यको अनुसरण गर्नुपर्ने कुरा बताएका थिए भन्ने कुरा पत्रिकामा पढ्दा हर्षविभोर भएकी थिएँ । निराशावादी समाचारको मात्र बहाव आएको बेला यस्ता खाले ऊर्जाशील खबरले मन आनन्दित नहुने त कुरै भएन ।

कुनै पनि कुराको महत्त्व अभावमा मात्र थाहा हुन्छ । मरुभूमिमा तिर्खाले छट्पटाइरहेको मानिसलाई एक गिलास पानीको कति महत्व हुन्छ, त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । सृष्टिको आधा आकाश भनेर चिनिने नारी जातिलाई जननीको रूपमा लिइए तापनि उनको कोखमा आउने भ्रूणको लिङ्ग पहिचान गरी हत्या गर्ने चलन संसारकै अक्षम्य अपराध हो । गर्भमा रहेको भ्रूण छोरी हो भन्ने थाहा पाएपछि भारतमा गर्भपात गर्नेहरू प्रशस्तै छन्, यसबाट कति गाउँहरू त छोरीविहीन नै हुनपुगेका छन् । कैयौं पुरुषहरू कुमार नै रहनुपर्ने स्थिति आइलागेको छ ।

नेपालमा पनि लिङ्ग पहिचान गरेर भ्रूणहत्या गर्ने क्रम अत्यन्त तीव्र रूपमा बढ्दै गइरहेको छ । अनिच्छित गर्भ तथा भइपरी आउने गर्भपतन सम्बन्धी अवस्थालाई राज्यले कानुनी रूपमै मान्यता दिए पनि लिङ्ग पहिचान गरेर गर्ने गर्भपातलाई कानुनी रूपमा अवैध मानिन्छ । मुलुकी ऐन ज्यानसम्बन्धी महल (२८) (ग) मा गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचानमात्र गराउनेलाई ३ देखि ६ महिना र लिङ्ग पहिचान गरी गर्भपतन गराउनेलाई ६ महिनादेखि २ वर्षसम्म कैद गरिने प्रावधान छ । कानुनी रूपमा यो व्यवस्था भए पनि छोरीलाई छोरासरह सन्तानको रूपमा हेर्नेहरू विस्तारै बढे पनि छोराप्रतिको मोह भने पटक्कै घटेको देखिँदैन । अझै पनि के कस्तो विधि प्रयोग गरेर हुन्छ, महिलालाई छोरा नै जन्माउन मानसिक दबाब दिइन्छ । दुईवटा छोरीमात्र जन्माएर सन्तानको रहर पुग्यो भन्नेहरू छोरीहरू ठूलठूला भइसकेपछि पनि लिङ्ग पहिचान गरी छोरा जन्माएको घटना तपाई-हाम्रो समाजमा प्रशस्त देखिन्छ । छोरा नजन्मिए स्वर्गको बाटो छेकिन्छ भन्ने भन्दा पनि समाजमा म छोराको बाउ हुँ, आमा हुँ भन्ने क्षणिक सन्तुष्टिका लागि पनि छोरा पाउन बढी हत्ते गरेको अनुभूति मैले गरेकी छु । 'ईश्वरका वरदान दुईमात्र सन्तान' भन्ने नारा नारामै सीमित हुनपुगेको छ । 'छोरा जन्मे खसी र छोरी जन्मे फर्सी' भन्ने उखानले अझै पनि हाम्रो समाजमा प्रश्रय पाएकै देखिन्छ ।

छोरीलाई सन्तान नै नठानेर अधिक भ्रूणहत्या गर्ने भारतमा पछिल्लो समयमा केही चेतना फैलिएको छ । अमिर खानद्वारा सञ्चालित खोजमूलक कार्यक्रम 'सत्यमेव जयते' भन्ने शृङ्खलामा यति कारुणिकता र संवेदनशीलतालाई देखाइयो कि त्यसपछि भारतमा लिङ्ग पहिचान गरेर छोरीको भ्रूणहत्या गर्नेहरू ह्वात्तै घटे । अहिले छोरीलाई पनि छोरासरह ठानेर छोरा नखोज्नेहरूको प्रतिशत बढिरहेको छ । पछिल्ला दिनमा छोरालाई प्राथमिकता दिने मानिस रुढिवादी, साँघुरो सोच र असभ्य ठान्न थालिएको छ । छिमेकी मित्रराष्ट्र चीनमा पनि सरकारद्वारा नै एकल सन्तानको नीति ल्याइयो । एकल सन्तान भन्ने बित्तिकै त्यहाँ पनि लिङ्ग पहिचान गरी छोरा नै जन्माउन थालियो, जसबाट समाजमा छोरीको संख्या ह्वात्तै घटेर छोरालाई बिहे गर्न बुहारी नै नपाइने स्थिति आइलागेको थियो । सार्वजनिक समारोह तथा मेलाहरूमा छोराको लागि बुहारी खोज्न चिनियाँहरू हिँडेको भन्ने समाचार पत्रपत्रिकामा पढ्न पाइएको थियो ।

हाम्रो मधेसी समुदायमा पनि छोरीको जन्म एउटा अभिशापपूर्ण नै मानिन्छ । हैसियतभन्दा बढी दाइजो दिनुपर्ने प्रचलनले उनीहरू आजित बनेका छन् । छोरीहरूको बिहे गर्ने चिन्ताले दाजुभाइको पनि राम्रो पढाइ-लेखाइ हुन नसक्दा समस्त परिवार नै भताभुङ्गको स्थितिमा पिल्सिन बाध्य भएको छ । पढ्न चाहेजति शिक्षा उपलब्ध गराएर, छोरीलाई स्वावलम्बी बनेपछि मात्र बिहे गराइदिन सक्ने हो भने दाइजो प्रथाको प्रयोग विस्तारै घट्ने थियो । केटा डाक्टर भए यति लाख, इन्जिनियर भए यति लाख भन्ने खालका मोलमोलाइ वास्तवमै खेदजनक छ । प्रेम, हार्दिकता र असल सम्बन्ध गाँसिने भन्ने कुरा पैसामा तौलिँदा आत्मीय बन्नुपर्ने सम्बन्ध फिक्का-फिक्का बनेको छ । जबसम्म छोरीलाई नै छोरा ठानिँदैन, लगातार भ्रूणहत्याको सिलसिला चलिरहन्छ, तबसम्म हाम्रो समाजमा यस्ता खालका गतिविधिको सिलसिला कहिले रोकिने छैन, बरु बढी नै रहनेछ ।

प्रकाशित: असार १३, २०७१

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार