समाचार

यसकारण दाउमा छ नेता रावलको प्रतिष्ठा

- बलराम बानियाँ/मेनुका ढुंगाना, अछाम

प्रदेश नं. ७ को अछाम जिल्लामा आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा चुनावमा एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री भीम रावलको प्रतिष्ठा दाउमा छ । गृह र रक्षा मन्त्रीसमेत भइसकेका रावललाई मुख्य प्रतिस्पर्धी कांग्रेसले कडा टक्कर दिएका कारणले होइन कि सत्तामा हुँदा विकास निर्माणका नयाँ योजना जिल्लामा ल्याउन नसकेकामा मतदातामा असन्तुष्टि बढेकाले उनको प्रतिष्ठा दाउमा परेको हो ।

रावल प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएको अछाम–१ एमालेको बलियो पकड भएको क्षेत्र हो । अझ एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएर लडेका कारण यो क्षेत्रमा स्थानीय तहको मतपरिणाम हेर्दा वामपन्थी मत कांग्रेसको भन्दा धेरै बढी छ । रावलले ०७० सालमा यही क्षेत्रबाट संविधानसभा सदस्य जितेका हुन् भने पछिल्लो स्थानीय तह चुनावमा एमाले र माओवादी केन्द्रले यो क्षेत्रमा पाएको मत कांग्रेसको भन्दा १३ हजारले बढी छ । यही क्षेत्रमा एमाले र माओवादीले स्थानीय तहमा बढी सिट जितेका छन् ।

रावलसित कांग्रेसका स्थानीय नेता एवं पार्टी जिल्ला सभापति भरत स्वाँर उम्मेदवार छन् । ‘हेभिवेट’रावलका सामुन्ने स्वाँरको छवि धेरै पुड्को छ । राष्ट्रियस्तरको नेता भएका कारण रावलप्रति जिल्लाका मतदातामा एकातिर आकर्षण छ भने केन्द्रमा प्रभावशाली नेता र मन्त्री भएर पनि जिल्लामा विकास निर्माणका ठूला योजना र जनतालाई आर्थिक उपार्जन हुने कार्यक्रम ल्याउन नसकेको भनेर उनीप्रति विकर्षणसमेत देखिएको छ । ‘रावल पटकपटक उपप्रधानमन्त्री र मन्त्री भएर हामीलाई के भयो र ? विकास निर्माणमा रावलले जिल्लामा खासै काम गरेका छैनन्’ भन्ने असन्तुष्टि स्थानीयवासीको छ । सुदूर पश्चिमवासीमा मन्त्री भइसकेको नेतासित विकास निर्माणको बढी अपेक्षा गर्ने र नभएमा असन्तुष्टि व्यक्त गर्ने र टाढिने आम स्वभाव छ । टोलटोलमा रावलले के गरेर जिताउने भन्ने र यति ठूला नेतालाई हराउन हुन्न भनेर बहससमेत भइरहेको छ ।

रावललाई आफ्नै ठाडो स्वभावसमेत चुनौती बनिरहेको छ । कार्यकर्ता र जिल्लावासी विकास निर्माणका योजना माग्न जाँदा रावलले ‘म राष्ट्रकै नेता हो, मैले अछामको मात्र काम गर्ने हो र ?’भन्ने गरेकाले कतिपय जिल्लावासी र कार्यकर्ता उनीसित टाढिएका छन् । त्यस्ता कार्यकर्ता र मतदातालाई आफूतिर तान्न रावललाई हम्मेहम्मे परिरहेको छ ।

एमालेले रावलको प्रतिष्ठा जोगाउन ‘भावी प्रधानमन्त्री’ र ‘एमालेको भावी अध्यक्ष’भनेर प्रचारप्रसार गरिरहेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवापछाडि रावल सुदूर पश्चिमकै दोस्रो ठूला नेता हुन् । रावलले अहिले ल्याउन नसके पनि भविष्यमा प्रचार गरिएजस्तै प्रभावशाली पदमा पुगेर जिल्ला र ७ नं. प्रदेशका लागि बढी विकास निर्माण ल्याउन सक्छन् भन्ने आकर्षणसमेत मतदातामा छ । रावल स्वयंले भने आफूलाई भावी प्रधानमन्त्री र भावी पार्टी अध्यक्ष भनेर आफूलाई जनतासमक्ष प्रस्तुत गरेका छैनन् । कार्यकर्ता पंक्तिले आफूलाई भावी प्रधानमन्त्री र पार्टी अध्यक्ष भनेर गरिरहेको प्रचारबाट हौसिएका छन् ।

एमालेले वाम गठबन्धनको मत सुरक्षित गर्न सकेमा रावलले सहजै जित्न सक्छन्, तर गठबन्धनको सबै मत रावलले पाउनेमा आशंका गर्नेहरूको जमातसमेत एमालेभित्रै छ । रावल यहीँबाट दुईपटक जितेको र दुईपटक पराजित भएको इतिहास छ । उनी ०५१ मा प्रतिनिधिसभा र ०७० संविधानसभा सदस्यमा विजयी भएका थिए भने ०४८ र ०५६ मा प्रतिनिधि सदस्यमा कांग्रेसका उम्मेदवारसित पराजित भएका थिए । ०६४ मा भने उनी समानुपातिक सिटबाट संविधानसभा सदस्य थिए । 
जिल्लाका मजदुरी गरेर जीविका चलाउने वर्ग रावलसित मात्र होइन कांग्रेससित समेत असन्तुष्ट छन् । उनीहरू खुला रूपमै जसले आफूलाई पैसा दिन्छ, उसैलाई मत दिने बताउँछन् । ‘कांग्रेसले जित्दा पनि हाम्रा लागि केही गरेन । रावलले जित्दा पनि केही भएन । अब त हामी जसले १० हजार रुपैयाँ दिन्छौं उसैलाई भोट दिन्छौं । पैसा नपाए भोट दिनै जान्नौं’बूढीगंगा किनारमा गिट्टी कुटिरहेकी दुर्गा कुमालले कान्तिपुरसित भनिन् ।

कांग्रेसका जिल्ला सचिव नमबहादुर शाहीले रावलले अछाममा विकास निर्माणको क्षेत्रमा नयाँ केही गर्न नसकेकाले एमालेले उनलाई जिताउन भावी प्रधानमन्त्री र भावी पार्टी अध्यक्ष भनेर प्रचारप्रसार गर्नुपरेको बताए । ०७० को संविधानसभा चुनाव र पछिल्लो स्थानीय चुनावमा गठबन्धनले ल्याएको मत विश्लेषण गर्दै कांग्रेसका नेतासमेत यो क्षेत्रमा आफ्नो उम्मेदवार जित्नेमा ढुक्क छैनन् । ‘जिल्लाका २ क्षेत्रमध्ये प्रतिनिधिसभाको २ नं. क्षेत्र जित्छौं, १ नं. क्षेत्र (रावल उम्मेदवार भएको क्षेत्र) मा जित्न ठूलै मिहिनेत गर्नुपर्छ’कांग्रेस नेता शाहीले भने ।

एमाले नेता रावल भने आफूले जित्नेमा शतप्रतिशत विश्वस्त छन् । ‘मैले जनप्रतिनिधिका रूपमा अछामवासीको विकास निर्माण र सुख दु:खमा धेरै काम गरेको छु, त्यो नै मेरो जितको आधार हो’उनले भने । विकास निर्माणमा सक्ने जति काम पनि नगरेको भन्ने जनगुनासो छ नि भन्ने जिज्ञासामा रावलले भने–‘मूलत: मसँग यहाँका अधिकांश जनता खुसी छन् । थोरैमात्र असन्तुष्ट होलान् । धेरैको जनसमर्थन मलाई छ ।’ गठबन्धनका कारणसमेत आफ्नो जितको आधार झन् बलियो भएको दाबी उनको छ ।

उनले अछामको साँफेबगर विमानस्थल कालोपत्रे गर्ने, मध्यपहाडी र सेती मार्ग विस्तार र स्तरोन्नति गर्ने काम आफ्नो पहलमा भइरहेको दाबी गरे । कांग्रेस नेता शाहीले भने रावलको दाबीमा सत्यता नरहेको दाबी गर्दै सिंगै सुदूर पश्चिम र अछाममा जति विकासनिर्माणका काम भएका छन्, त्या सबै कांग्रेसको पहलमा मात्र भएको दाबी गरे । २० मेगावाटको बूढीगंगा जलविद्युत आयोजनाको निर्माण, सेती मार्ग र मध्यपहाडी लोकमार्गको विस्तार र स्तरोन्नति तथा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने, जनताको आर्थिक उपार्जन बढ्ने गरी आर्थिक विकास गर्ने कांग्रेस र वाम गठबन्धन दुवैले प्रमुख चुनावी मुद्दा बनाएका छन् ।

१ नं मा रावलको उम्मेदवारीले २ नं. क्षेत्र पूरै ओझेलमा परेको छ । २ नं. मा कांग्रेसबाट पुष्पबहादुर शाह र वाम गठबन्धनका तर्फबाट एमालेका यज्ञ बोगटी उम्मेदवार छन् । २ नं. मा पर्ने अधिकांश स्थानीय तहमा जितेको कांग्रेस यो क्षेत्र जित्नेमा ढुक्क छ । स्थानीय तहमा एमाले र माओवादीको गठबन्धन कांग्रेसको भन्दा झिनो मतले मात्र अगाडि छ, त्यही कारण गठबन्धनसमेत यो क्षेत्र जित्नेमा उत्तिकै विश्वस्त छ । कांग्रेसले स्थानीय तह बढी जितेर अछाम जिल्ला समन्य समिति एकल बहुमतसहित जितेको छ ।

एमाले र माओवादी केन्द्रले गठबन्धन स्थानीयस्तरसम्म प्रभावकारी ढंगले भइरहेको दाबी गरेका छन् । कांग्रेसले भने केन्द्रमा गठबन्धन भए पनि जिल्लामा प्रभावकारी हुन नसकेको र त्यसको फाइदा आफूलाई हुने दाबी गरेको छ । कांग्रेसले आफ्नो पार्टीसँग गठबन्धन गरेर माओवादीबाट मेयर र उपमेयर, गाउँपालिका प्रमुख तथा उपप्रमुख र वडा अध्यक्ष जितेका सबैले आफ्ना उम्मेदवारलाई भोट हाल्ने दाबी गरेको छ । ‘माओवादीको मत हामीलाई आउँछ’ कांग्रेस नेता शाहीले भने । माओवादीले क्षेत्र नं. १ को प्रदेशसभातर्फको ‘ख’सिटमा पार्टीमा स्थानीय तहको चुनावका बेलामात्र आएका बैंकर झपट बोहरालाई उम्मेदवार बनाएको छ ।
 
बोहराको उम्मेदवारीलाई माओवादीका जनयुद्धकालदेखिका नेता तथा कार्यकर्ता असन्तुष्ट छन् । त्यही असन्तुष्टिका कारण माओवादीको बढी भोट आफूलाई आउने दाबी कांग्रेसको छ । कांग्रेस नेता शाहीले माओवादीभित्रको विवादका कारण उसको बढी जनाधार भएको क्षेत्रबाट कांग्रेसलाई बढी भोट आउने दाबी गरे । संविधानसभा चुनाव–०७० का माओवादी उम्मेदवार खगेन्द्र रोकाया यसपटक प्रतिनिधिसभा र प्रदेशसभा कुनैमा पनि उम्मेदवार हुन नपाएकामा असन्तुष्ट छन् । उनी गठबन्धनका उम्मेदवारको पक्षमा प्रचारप्रसारमा हिडेका छैनन् । प्रतिनिधिसभाको २ नं. क्षेत्रमा एमालेभित्र समेत असन्तुष्टि छ । यसपटक प्रतिनिधिसभा र प्रदेशसभा कुनैमा पनि टिकट नपाएका कारण एमालेका निवर्तमान सांसद भरत साउद असन्तुष्ट छन् । उनको असन्तुष्टि सतहमा भने आइसकेको छैन ।

कांग्रेसभित्र उम्मेदवारीलाई लिएर केही असन्तुष्टि भए पनि वाम गठबन्धनका कारण पार्टीमाथि ठूलो चुनौती आएको महसुस गर्दै पार्टीपंक्ति एकताबद्ध हुने प्रयास गर्दैछ । ‘कांग्रेसभित्र जहिले पनि बागी र असन्तुष्टि हुन्थ्यो । यसपटक पनि असन्तुष्टि थियो । वाम गठबन्धनका कारण पार्टी अप्ठ्यारामा परेकाले स्थानीय नेता तथा कार्यकर्ता एकताबद्ध भएका छन् । कांग्रेसमा यस्तो एकता कहिल्यै थिएन’ शाहीले भने । 

प्रदेशसभातर्फ क्षेत्र नं. १ को ‘क’ र ‘ख’ मा कांग्रेसका क्रमश: मेघराख खडका र टेकबहादुर साउद तथा वाम गठबन्धनबाट ‘क’ मा एमालेका गोविन्दबहादुर कुँवर र ‘ख’ मा माओवादीका झपट बोहरा तथा २ नं. को ‘क’ र ‘ख’ मा कांग्रेसका क्रमश: सुरतबहादुर बिष्ट र बलबहादुर कुँवर तथा वाम गठबन्धनबाट ‘क’ मा एमालेका अक्कलबहादुर रावल र ‘ख’ मा माओवादीका बलबहादुर सोढारी उम्मेदवार छन् । 

प्रकाशित:कार्तिक २५, २०७४