कुराकानी

मुटुरोगबाट ज्यान गुमाउने प्रमुख कारण अज्ञानता

सन्दर्भ: विश्व मुटु दिवस

- कान्तिपुर संवाददाता , काठमाडौं

प्रत्येक वर्ष २९ सेप्टेम्बरलाई संसारभर विश्व मुटु दिवसका रुपमा मनाइन्छ । यस दिवसको मुख्य सन्देश मुटुरोग सम्बन्धि चेतना फैलाईयसबाट बच्न तथा सावधानी हुन उत्प्रेरित गर्नु हो । 

सानै उमेरमा छात्रवृत्ति पाएर बेलायत आएका अर्थ व्यवस्थापन बिज्ञ विकलचन्द्र आचार्यलाई चौतीस वर्षकै कलिलो उमेरमा अकष्मात ह्दयाघात भयो । 

हृदयघात भएपछि उनको जीवनले अर्को मोड लिएको छ । आफूलाई लागेको रोगबारे अध्ययन गरि यसबाट अरुलाई सावधान गराउन आचार्यले मुटुरोग सम्बन्धि दुईवटा पुस्तक लेखे ।आफूले भोग्नुपरेको मुटुरोग समस्या अरुलाई नपरोस् भनेर यस सम्बन्धि चेतना फैलाउन लेखेर होस् वा भेटेर उनी रातदिन सक्रिय छन् ।उनमा मुटुरोगलाई सामान्य मानिसले बुझ्ने गरि ब्याख्या गर्ने कला छ । ब्रिटिस मेडिकल जर्नालिस्ट असोसिएसनका सदस्य तथा कोरोनरी मुटुरोग पुस्तकका लेखक आचार्यसंग लन्डनस्थित कान्तिपुरकर्मी नवीन पोखरेलले मुटु दिवसको सन्दर्भमा गरेको कुराकानीको अंश यहां प्रस्तुत 
छ :

अहिले विश्वमा मुटुरोगको अवस्था कस्तो छ ?

बढ्दो महत्वकांक्षा, कम क्रियाशील जीवन, स्वास्थ्य सम्बन्धि न्यूनतम ज्ञानको कमी तथा चिन्तालाई समयमा ब्यवस्थित गर्न नसक्नु जस्ता मुख्य कारणले संसारमा मुटुरोगबाट मानिसहरु पीडित हुने क्रम बढ्दो छ । बेलायतको कुरा गर्ने हो भने कोरोनरी मुटुरोग र स्ट्रोक सबैभन्दा धेरै मानिसमर्ने रोग हुन् ।

नेपालीको हकमा मुटुरोगबाट पीडित हुने जोखिम कस्तो छ ?

अध्ययनले दक्षिण एसिया र अफ्रो क्यारिबियनका मानिसलाई कोरोनरी मुटुरोग लाग्ने सम्भावना अन्यत्रकालाई भन्दा धेरै बढि हुने देखाएको छ ।यसमा बंशानुगत तथा जीवनशैलीले महत्वपूर्ण भूमिका खेल्छ । बढ्दो शहरीकरण र अस्वथ्यकर जीवनशैलीले गर्दा नेपालमा कलिलै उमेरमा मुटुरोगबाट पीडित हुनेको संख्या उल्लेख्य बढिरहेको छ ।  

मुटुरोग लाग्ने जोखिम तथा सावधानीका उपायहरु के के हुन् ?

मुटुको रोग लाग्ने कुनै एउटा मात्र कारण छैन्। जोखिमका तत्वहरु जस्तै धूमपान, परिवारमा मुटुरोगको इतिहास, उच्च रक्तचाप, उच्च रगत कोलेस्ट्रोल, मधुमेह, मोटोपन, चिन्ता आदिले मुटुरोग लाग्ने सम्भावना बढाउँछ ।

तपाईंलाई आफ्नो नाम, ठेगाना थाहा भएजस्तै आफ्नो कोलेस्ट्रोल, रक्तचाप, रगतमा चिनीको मात्राको नम्बर थाहा पाउन जरुरी छ । यही अनुसार खानपान र क्रियाशीलता बढाई आवश्यक परे चिकित्सकलाई भेट्नु पर्दछ ।

वर्षमा कम्तीमा एकपटक रगत जाँच्छु । यसले कोरोनरी मुटुरोगबाट बच्न या सावधान हुन महत्वपूर्ण भूमिका खेल्न सक्छ । जोखिमका तत्वहरुलाई समयमा नै ध्यान दिई उचित जीवनशैली अपनाएर मुटुरोगबाट सावधान हुन सकिन्छ । धुमपान, मद्यपान त्याग्ने अनि स्वस्थकर र सन्तुलित आहारले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । 

कोलेस्ट्रोलकाबारेमा मानिसमा अलि जानकारी कमीभएजस्तो देखिन्छ । साधारण मानिसले यसबारे बुझ्नुपर्ने कुरा के के छन्?

कोलेस्ट्रोल हाम्रो शरीरमा पाइने एक किसिमको बोसो हो । रगतमा धेरै चिल्लो भयो भने यो आर्टरीहरुमा जम्मा भइ रक्त सञ्चार हुन व्यवधान गर्न सक्छ । हामीले खाने खानामा तयारी कोलेस्ट्रोल करिब २० प्रतिशत रहन्छ भने बांकी ८० प्रतिशत शरीरले बनाउंछ। कलेजोले हरेक दिन शरीरलाई पूरै पुग्ने करिब एक ग्राम कोलेस्ट्रोल बनाउंछ। तर हाम्रो शरीरको कोलेस्ट्रोलको परिमाणमा परिवर्तन हुन नसक्ने वंशाणुगत प्रभाव पनि पर्छ । 

रक्तकोसिकामा ओहोरदोहोर गर्न कोलेस्ट्रोल मोलिक्यूलहरु आफैंमा लिपिड बोक्ने प्रोटिन या लिपोप्रोटिनसंग आवद्ध हुन्छन् । दुई किसिमको लिपोप्रोटिन मुख्य कोलेस्ट्रोलको वाहक हुन् । तीमध्ये लो डेन्सिटी लिपोप्रोटी (एलडीएल) ले दुई तिहाइ बोक्ने गर्छ । बांकी भएको हाइ डेन्सिटी लिपोप्रोटिन (एचडीएल) सँग आवद्ध हुन्छ । 

एलडिएलले कोलेस्ट्रोल कोरोनरी आर्टरीको भित्ताहरुमा जम्मा गर्ने गर्छ र बोसो जम्मा भई मुटु रोग लाग्ने जोखिम बढाउंछ। यसको विपरित एचडीएलले कोलेस्ट्रोल आर्टरीहरुको भित्ताबाट र अझ तन्तुहरु पनि जम्मा पार्छ र कलेजोमा लगी प्रोसेस गरेर शरीरबाट निकाल्छ। त्यसैले एलडीएललाई ‘नराम्रो’ कोलेस्ट्रोल र एचडीएललाई ‘राम्रो’ कोलेस्ट्रोल भनिन्छ। 

हामीले खाने मासु, दुध, घीउ, चीज आदिबाट प्राप्त हुने कोलेस्ट्रोल शरीरलाई आवश्यक पर्दैन तर शुद्ध शाकाहारी खानाबाट अतिरिक्त कोलेस्ट्रोल प्राप्त हुन्छ। कसैले धेरै परिमाणमा खाना खाए पनि उनीहरुमा रगतको तह साधारण रहन्छ। कोही मानिस धेरै कम खान्छन् तर रगत उच्च कोलेस्ट्रोल हुन्छ । यसको कारण जीवनशैली, वंशाणुगत, लिंग र शरीरले कोलेस्ट्रोललाई कसरी प्रोसेस गर्ने भन्ने प्रक्रियामा भर पर्छ । 


नेपालीमा अचेल कलिलै उमेर देखि मधुमेह रोग देखिने गरेको पाइएको छ । मधुमेहले मुटुलाई कसरी असर गर्छ ?

रगतमा उच्च ग्लुकोज लेभल भएपछि रगत बाक्लो र टांसिने हुनपुग्छ । त्यसैले शरीरभर रगत पम्प गर्न मुटुलाई भार पर्छ र यसले आर्टरीको भित्तामा असर गर्दछ जसले चिल्लो जम्ने क्रमको विकास गर्न सक्छ । मुटु रोगका जोखिमका तत्वहरु धूमपान, उच्च रक्तचाप र रगतमा उच्च कोलेस्ट्रोलबाट हुने नोक्सानलाई मधुमेहले अरु बढाउंछ । टाइप २ मधुमेह भएको मान्छेको प्राय ट्राइग्लिसराइड बढी र एचडिएल कोलेस्ट्रोल कम हुन्छ । मधुमेह भएको मानिसलाई उच्च रक्तचाप हुने बढि सम्भावना हुन्छ । मधुमेहले मुटुको मांशपेशीलाई असर गर्न सक्छ र रगत पम्प गर्ने क्षमतामा ह्रास आउन सक्छ । मधुमेहले मुटुको स्नायूलाई असर पार्न सक्छ । त्यसैले एन्जाइनाको लक्षणमा फरक पर्न सक्छ । यसले इन्जाइना र ह्दयाघात पत्तालगाउन ढिलो हुन सक्छ ।
शरीरका अंगहरु जस्तै आंखा, मृगौला, पैतालामा नोक्सान रोकथाम गर्न रगतको ग्लुकोज लेभल र रक्तचाप ठिक गरी नियन्त्रण गर्न जरुरी छ । मधुमेहले कोरोनरी मुटुरोग लाग्ने सम्भावना धेरै बढाउंछ । मधुमेहको मुख्य जोखिमका तत्वहरुको राम्रो उपचार र जीवनशैली परिवर्तन गरेर नियन्त्रण गर्न सकिन्छ ।

ह्दयाघातका लक्षणहरु के के हुन् ?
ह्दयाघातको लक्षणमा खास छातीको बीच भागमा एकदम दुख्ने र छातीमा असुविधा हुन्छ । दुखाई चाहिं एकदम गरुङ्गो या कसिएको हुन्छ जुन दुखाइ पाखुरा, घांटी, गर्धन, पछाडि वा भुंडीमा पनि सर्न सक्छ । यसले घाटी, बंगारा, पाखुरा वा भुंडीमा मात्रै असर गर्न सक्छ । ह्दयाघात भइरहेको मान्छेलाई पसिना आउने, टाउको हलुंगो हुने, वान्ता आउने या श्वास फेर्न गाह्रो हुने पनि हुन्छ । केही मानिसह्दयाघात हुंदा खाना अपच जस्तो ठानेर झुक्किन्छन् ।

कहिलेकाहिंह्दयाघात ‘शान्त’ हुन्छ र यसले कम असुविधा महसुस हुन्छ । मधुमेह भएका मानिसमा ह्दयाघातको लक्षण हिप्पोसंग झुक्किने पनि हुनसक्छ । कसैलाई ह्दयाघात भइरहेको छ भने तुरुन्त एम्बुलेन्स बोलाएर अस्पताल पुग्नुपर्छ । धेरै मानिस एम्बुलेन्स बोलाउन कुर्दा या अस्पताल जान ढिलो गरेर जीवनजोखिममा राख्छन् । तसर्थ सम्भव भएसम्म चांडै अस्पताल पुग्नुपर्दछ । ह्दयाघातको अवधिमा जीवन नै जोखिम हुने मुटुका रिदमहरुको विकास हुन सक्छ । त्यसैकारण ह्दयाघातलाई आकष्मिक रुपमा उपचार गरिन्छ

ह्दयाघातको उपचार कस्तो छ ?हालै भएको अनुसन्धानमा जिन थेरापीले उपचारमा ठूलो परिवर्तन ल्याउंछ भन्ने पनि छ । यसबारे बताइदिनु हुन्छ कि ?

ठिक समयमा अस्पताल पुगे ह्दयाघातबाट बच्ने सम्भावना अधिक रहन्छ । छाती दुखेको अथवा माथि बताइएको ह्दयाघातका लक्षणहरु भए तुरुन्त अस्पताल पुग्नुपर्छ । शंकामा त्यसै बस्नु हुंदैन । समय महत्वपूर्ण हुनसक्छ । तरपनि अझै कयौं मानिस अज्ञानताका कारण मुटुरोगबाट ज्यानै गुमाउने या पीडित हुने क्रम जारी छ । 

ब्लकेज भएको ठाउंमा स्टेन्ट सहितको कोरोनरी एन्योप्ल्यास्टि या बाइपास अथवा अन्य उपचारका तरिकाहरु धेरै प्रभावकारी छन् । बेलायतमा सबै स्वास्थ्य सेवा निशुल्क छ, तर नेपालमा देश अनुसार महंगो छ । नेपाल जस्तो गरिब देशमा मुटुरोग लागेपछि धेरैले आर्थिक भार खप्नुपर्ने अवस्था भएकाले मुटुरोगबारे थप चेतना फैलाउन टड्कारो आवश्यकता छ । रोग लागिसकेपछि पनि सहि उपचार गरि सतर्कता अपनाउंदै सामान्य जीवन बिताउन सकिन्छ भन्ने कुरा नै मेरो अनुभव छ ।

बैज्ञानिकहरुले पहिलोचोटि खराब डीएनएबाट भ्रूणहरु (एम्ब्रियो) सफलतापूर्वक अलग गरेका छन् जुन भ्रूणले वंशाणुगत रुपमा रगतको नाता भएको व्यक्तिमा सरि खतरनाक मुटुरोगको कारक बन्दछ । यसले पुस्तौं देखि सर्ने करिब दश हजार डिएनएको विकृतिहरुलाई रोकथाम गर्ने सम्भावनाको ढोका खोलेको छ । यस्तो आविस्कारको विकासले बंशानुगत रुपबाट सर्ने रोगहरु साइटिक फाइब्रोसिस देखि स्तन क्यान्सरको कारक हुने खराब डीएनएलाई हटाउन सक्नेछ । 

बैज्ञानिकहरुले मुटु रोग अन्तर्गतका हाइपरट्राफिक कार्डियोमायोपेथी रोगलाई केन्द्रित गरेका थिए । यस किसिमको मुटुको रोग पांच सयमा एक जनालाई हुने गरेको तथ्यांक छ । यस किसिमको रोगमा मुटुको धड्कन अकस्मात बन्द हुने गर्छ । जिन थेरापी प्रविधिको विकास भइ उपचारमा आउन भने धेरै समय लाग्ने छ ।     

तपाई आफैंलाई पनि मुटुरोग लाग्यो । अन्य मुटुरोगीहरुलाई के कस्तो सल्लाह दिनुहुन्छ ?

सहि उपचार गर्ने र माथि चर्चा गरिए अनुसार जोखिम थाहा पाउने, त्यहि अनुसार जीवनशैली बदल्ने, डाक्टरको सल्लाहमा आफ्नो औषधि समयमा खाने, क्रियाशीलता बढाउने जस्ता गतिविधिले मुटुरोग लागेपछि पनि सामान्य जीवनयापन गर्न सकिन्छ । भएको कुरालाई नभएको बनाउन सकिंदैन, बास्तविकतालाई सामना गर्दै आफ्नो उच्च मनोवल कायम गर्दै नित्य काममा लाग्नुपर्छ । मनका कुराहरु अरुलाई बताउनुपर्छ भन्ने सल्लाह दिन्छु म । 

तपार्इंले धेरै मुटुरोगीलाई भेट्नुभएको छ, उनीहरुको अवस्था कस्तो पाउनुभयो ?

मुख्यकुरा हामीमा मुटुरोग सम्बन्धि ज्ञानको अभाव पाएको छु मैले । सामान्य रोगबारे लक्षण थाहा नपाउनु या बेवास्ता गर्नु, अस्पताल जान वा अरुलाई भन्न संकोच मान्नु जस्ता समस्या धेरैमा छ । तर, रोग लागिसकेपछि पश्चाताप, भय, एक्लोपन आदि समस्यासंग सामना गरिरहेको पनि देखेको छु । यसमा मैले सक्दो सहयोग गर्ने 
प्रयास जारी राखेको छु ।

विश्व मुटु दिवसले आम मानिसलाई के सन्देश दिए जस्तो लाग्छ तपाईंलाई ?

मुटु हाम्रो प्रधान अंग भएकोले यसको हेरविचार सधैं गर्नुपर्छ । मुटुरोग सम्बन्धि न्यूनतम ज्ञान सबैले मनन गर्नुपर्दछ । समयमा नै सतर्कता अपनाएर मुटुरोगबाट अकालमा ज्यान कसैले पनि गुमाउनु या पीडित हुन 
नपरोस भन्ने नै यस दिवसको मुख्य सन्देश हो भन्ने मलाई लाग्छ ।

प्रकाशित:आश्विन ११, २०७४