कुराकानी

‘खुसी र उल्लासको मानक नै बजार भयो’

कान्तिपुर कुराकानी

- कान्तिपुर संवाददाता
नेपाली समाज उत्सवको मुडमा छ । बडादसैं सुरू भइसकेकाले बजारको चहलपहल ह्वात्तै बढिसकेको छ । समयसँगै नेपाली समाजमा चाडपर्वहरुको परम्परागत मूल्यमान्यता पनि बदलिँदै गएको छ । चाडपर्वमा सांस्कृतिक र सामाजिक मूल्यभन्दा बजारको मूल्य हावी हुन थालेको बहससमेत सुरू भएको छ । समाज, संस्कृति र मानवीय सम्बन्धमाथि निरन्तर अध्ययन–अनुसन्धान गरिरहेका मानवशास्त्री डा. सुरेश ढकाल बजारको तराजुमा चाडपर्वको खुसी र उल्लासको किनबेच भइरहेको ठान्छन् । चाडपर्वको फेरिँदो मूल्य र यसको अर्थ–राजनीतिमा केन्द्रित रहेर डा. ढकालसँग कान्तिपुरका लागि जनकराज सापकोटाले गरेको कुराकानी :


चाडबाड त धेरै आउँछन्, तर दसैं आएपछि सामाजिक गतिशीलता पनि ह्वात्तै बढ्छ । अन्य पर्वहरूको तुलनामा दसैं किन प्रमुख बनिरहेको होला ? 

हाम्रा अरू पर्व यति धेरै पारिवारिक छैनन् । तर, दसैं नितान्त पारिवारिक पर्व हो । जमघट हुने, पारिवरिक सम्बन्धहरूलाई पुनरुत्पादन गर्ने, नातागोता प्रणालीलाई पुस्तान्तर गर्दै लैजाने, नातागोताभित्र हुने सम्मानको अनेक स्तरलाई पनि सम्झाउने पर्व हो दसैं । यो पर्वमा सबै मान्छे भेला हुने र रमाइलो गर्ने कुरा पनि सँगसँगै भइरहेको हुन्छ । चाडभरि भौतिकसँगै मानसिक आवश्यकता पनि पूरा भइरहेको हुन्छ र यसले मान्छेलाई आनन्द दिन्छ । संसारभरि छरिए पनि यसलाई हामी किन मनाउँछौं भने पर्वहरू सांस्कृतिक पहिचानका आधार हुन् । चाडपर्वमार्फत हामी पहिचान निर्माण गरिरहेका हुन्छौं । काठमाडौंमा बस्दा हामी जिल्लावासीको साइनो खोज्छौं । देशबाहिर बस्दा नेपाली हौं भन्छौं । पर्वले सामूहिक पहिचान निर्माण गर्न सहयोग गर्छ । यसले सामूहिक पहिचानको पुनरुत्पादन गर्छ । 

ठूलो समूहले दसैं मनाइरहँदा कतिपयले चाहिं दसैंको सर्वस्वीकार्यतामाथि प्रश्न गरिरहेको भेटिन्छ । यस्तो किन भइरहेको छ ? 
कुनै समय दसैं एउटा निरपेक्ष पर्व थियो । कृषिमा आधारित मान्छेहरूले खेतीपातीको काम सकिएपछि रमाइलो गर्ने, आफ्ना उत्पादन कोसेलीपात लैजाने परम्परा थियो । तर राज्यले यसमा आफ्ना मान्यता लाद्यो र दसंैलाई हिन्दुहरूको चाड बनाइदियो । लामो समयसम्म त्यसले राजनीतिक अर्थ ग्रहण गरेर त्यो एकपक्षीय भयो । जब जातीय पहिचानका चेतना उठ्न थाले, तब गैरहिन्दुहरूलाई लाग्यो– हामी अलग हौं । अलग हौं भन्नेहरूले प्रतिरोध गर्न हिन्दुसँग जोडिएका कुराको विरोध गर्न थाले । जसरी दसंै बहिष्कार भन्ने चलन पनि छ । दसैं बहिष्कार भन्नुको राजनीतिक अर्थ छ । एकथरीले दसंै बहिष्कारमार्फत सामूहिक विरोध गरेर धार्मिक राज्यको प्रतिरोध गरेका हुन् । जातका हिसाबले पो हामी फरक–फरक भएका छौं । तर जीविकोपार्जनका हिसाबले त हामी सबै एकै ठाउँमा छौं नि । उस्तै खालको जीविकोपार्जन छ, उस्तै खालको राजनीतिक–सामाजिक बृहत्तर संरचनामा बाँच्नुपरेको छ । त्यसैले हामीलाई निरपेक्ष खालको पर्व र त्यसअनुकुलको बिम्ब चाहिएको छ । सामूहिकता निर्माण गर्ने यस्तो उत्सव चाहिएको छ, जसले हामीलाई बृहत्तर रूपमा नेपाली हुनुको सार्थकता दिन सकोस् । अहिले हामीलाई सबभन्दा खट्केको यही हो । 

राज्यले आफ्नो धर्म यो हो भन्न छाडेपछि अब समाजमा फरकफरक धर्मावलम्बीमाझ पनि एकअर्काको संस्कृतिप्रति सम्मानभाव विकसित हुन थालेजस्तो लाग्दैन ?
राज्यले आफ्नो धर्म छाड्नेभन्दा पनि एकपक्षीय हिसाबले कुनै निश्चित धर्म र संस्कृति लाद्नु भएन । अहिले पनि सरकारी सञ्चार माध्यमले दसैं ‘हिन्दुहरूको महान् चाड’ भनिरहेका हुन्छन् । सरकारी चिठीपत्रमा पनि यस्तै भाषा हुन्छ । सरकारले दसैंलाई विशेष महत्त्व दिएको देखिन्छ । यसो गर्दा त राज्य एकपक्षीय भएको देखियो । जब म हिन्दु होइन भने त यो दसैं मेरो होइन भन्ने भाव उत्पन्न हुन्छ नि । ‘हिन्दुहरूको चाड’ भन्नुको सट्टा ‘नेपालीको महान् चाड’ भने पनि त हुन्छ । यस्ता खालका अभ्यासमा राज्य निरपेक्ष रहनुपर्‍यो । एउटालाई मात्रै माया गर्नु भएन । सबैप्रति समान दृष्टिकोण राख्नुपर्‍यो । नत्र अरू धर्म र संस्कृति अपनाउनेले सहज रूपमा स्विकार्दैनन् । राज्यले निरपेक्ष प्रकृतिको चाडपर्व निर्माण गर्नुपर्छ । जनस्तरमा पनि सद्भावपूर्ण संस्कृतिको विकासले एकअर्कालाई सम्मान गर्ने परम्परा निर्माण गर्छ । आफूलाई केन्द्रमा राख्ने जातिवादी सोच हाम्रो समस्या हो । यस्तो सोचले अरूलाई सम्मान र सद्भाव दिन सक्दैन । हामी किन मिल्न सकेका छैनौं भने हामीबीचमा विभेद छ । हामीकहाँ होचोनिचोको व्यवहार छ । हामी एकले अर्कोलाई तल–माथि राखेर हेर्छाैं, त्यसैले विभाजन छ । 

 

चाडपर्वले मेलमिलाप र समन्वय मात्रै होइन, असमानता पनि उत्पादन गरिरहेकै हुन्छ ।
o एक थरीले दसैं बहिष्कारमार्फत धार्मिक राज्यको प्रतिरोध गरेका हुन् ।
हामी किन मिल्न सकेका छैनौं भने हामीबीचमा विभेद छ ।
‘हिन्दुहरूको चाड’ भन्नुको सट्टा ‘नेपालीको महान् चाड’ भने पनि त हुन्छ ।
हिजो समाजमा होचोनिचोको निर्धारण गर्ने कुरामा जात प्रमुख थियो, अहिले क्रयशक्ति । 
यस्तो भइसकेको छ कि एउटा सफल बाबु हुनु छ भने एउटा गतिलो उपभोक्ता पनि हुनैपर्छ ।
पर्व पहिला र कथा पछि हो तर हामी कथाको व्याख्यामा अल्मलिएका छौं ।

हरेक चाडपर्वमा सांस्कृतिकभन्दा आर्थिक पक्ष मुखर भएर आइरहेको देखिन्छ । के चाडपर्वका बेला मनग्गे खर्च गरेर अरूलाई देखाउनुपर्छ भन्ने सोच प्रधान हुँदै गइरहेको हो ? 

त्यो त एकदमै प्रस्ट देखिन्छ । चाडपर्वलाई रमाइलो वा नरमाइलो बनाउने मान्छेको आवश्यकता र चाहनालाई परिभाषित गर्ने कुरा नै बजार भएको छ । यसपालिको दसैं रमाइलो भयो, किनभने हामीले टीभी किन्यौं, कार किन्यौं अथवा यति तोला सुन किन्यौं भन्नेजस्ता कुरा आउन थाले । जबकि हिजो त यस्तो थिएन । हामीले बाली भित्र्यायौं, घरमा वस्तुभाउ स्वस्थ छन् भन्ने कुरा मात्रै थियो । जतिबेला आफ्नै उत्पादनहरू चाडबाडमा कोसेली दिँदा मान्छे खुसी हुन्थे । अहिले त सबै कुरालाई बजारले खाइदियो । खुसी र उल्लासको मानक नै बजार भयो । बजारले सांस्कृतिक पर्वहरूमा मान्छेमा निर्माण हुने उदार मानसिकताको फाइदा उठाउँदै शोषण गर्छ । 

त्यसो भए थोरै कमाइमा जेनतेन जीविकोपार्जन गर्ने मान्छेलाई चाडपर्वले झनै धेरै अप्ठेरोमा पार्दै लगेको हो ? 
चाडपर्व बदलिन थालेका छन् । किनभने खुसी र उल्लास निर्धारण गर्ने काम पनि बजारले गरिरहेको छ । बजारको मूल चरित्र भनेको निर्मम र अमानवीय हुनु हो । हिजो समाजमा होचोनिचोको निर्धारण गर्ने कुरामा जात प्रमुख थियो । अहिले क्रयशक्ति भएको छ । अहिले सामाजिक मानकभन्दा आर्थिक मानक हावी भएको छ । हिजो जात मानक थियो, अहिले वर्ग मानक भएर आएको छ । यस्तो अभ्यासमा कमजोर आर्थिक हैसियतकाहरूले आफूलाई झनै कमजोर ठान्छन् । यस्तो अवस्थामा कमजोर आर्थिक हैसियत भएकाहरूले पनि अनेक यत्नबाट उपल्लो आर्थिक हैसियत भएकाहरूको जस्तै नक्कल गर्न खोज्छ, ताकि उसलाई ‘म पनि माथिल्लो स्तरकै हुँ है’ भन्ने लागोस् ।

देखावटीपन त हाम्रो संस्कारजस्तै भइसक्यो । चाडपर्वमा परिवारसँग बसेर उल्लास गर्नेभन्दा पनि केके किनियो, केके गरियो भनेर अरूलाई देखाउने हतारो प्राय: लाई छ । के बजारले नै यस्तो बाध्यता सिर्जना गरिदिएको हो ? 
चाडपर्वले मेलमिलाप र समन्वय मात्रै गरिरहेको हँ‘दैन, असमानतालाई पनि उत्पादन गरिरहेकै हुन्छ । जब सामाजिक मानक कमजोर र आर्थिक मानक प्रबल भइसकेपछि आर्थिक असमानता निरन्तर बढिरहेको हुन्छ । आर्थिक उपार्जनको शैली पनि हिजोको भन्दा बदलिसक्यो । कृषिभन्दा गैरकृषि क्षेत्रमा काम गर्ने, फरक खालको व्यवसायमा हामी पुगेका छौं । त्यसले फरक खालको सामाजिक बनोट निर्माण गरेको छ । हिजोको जस्तो सामाजिक र पारिवारिक दायित्व पनि मान्छेसँग छैन । नातागोताको सम्बन्धभन्दा व्यावसायिक सम्बन्ध मान्छेका निम्ति महत्त्वपूर्ण हुँ‘दै गएका छन् । यस्तो अवस्थामा चाडपर्वको सामाजिक आयाम पनि बदलिने नै भयो । यस्तो अवस्थामा मान्छे आफ्नो प्रगति र हैसियत अरूलाई देखाउन चाहन्छ । आफ्नो हैसियत देखाउन त केही न केही प्रदर्शन गर्नैपर्ने हुन्छ ।

देखाउने कुरामा हामी बढी नै ‘उदार’ भएका हौं कि ?
उदारभन्दा पनि शक्तिको प्रदर्शनकारी चरित्र हुन्छ । अरूले थाहा पाउने गरी सम्पत्ति खर्च गर्न सकियो भने पो योसँग सम्पत्ति रहेछ, यो ठूलो मान्छे रहेछ भन्ने स्थापित हुन्छ भन्ने बुझाइ छ । अरूलाई अनुभूत नगराई सम्पत्तिको महत्त्व हँ‘ुदैन भन्ने सोच छ । पहिले अरूलाई सम्पत्ति देखाउनु हँ‘ुदैन भन्ने थियो । अहिले कसरी हुन्छ, देखाउनुपर्छ भन्ने छ । 

यस्तो कुरा चाडबाडका बेला झनै मुखरित हुने हो ?
हो । हाम्रो परम्परागत मान्यता नै के छ भने चाडबाडका बेला हामी उदार मनका हुन्छौं । अनि चाडबाडको बिदा, अतिरिक्त ‘बोनस’ जस्ता कुराले खर्च गर्नेलाई झनै उदार बनाइदिन्छ । यस्तो स्वरूपलाई बजारले उपभोग गर्छ । बजार र त्यसलाई प्रवद्र्धन गर्ने शक्तिशाली मिडियाले मान्छेलाई उपभोक्ता बनाइरहेको हुन्छ । अहिले त यस्तो भइसकेको छ कि एउटा सफल बाबु हुनु छ भने एउटा गतिलो उपभोक्ता पनि हुनैपर्छ । घरमा बसेर आफ्ना बालबच्चालाई मनग्गे समय दिएर, पुराना बुबा–बाजेका कथा र संस्मरण सुनाएर अर्थ नराख्ने भयो । राम्रो उपभोक्ता हुन सकियो भने मात्रै राम्रो अभिभावक हुने भइयो ।

तपाईंले भनेजसरी चाडपर्वमा बजार मानक बन्दै गएको हो भने यसमा राज्यको हस्तक्षेपकारी भूमिका आवश्यक हुन्छ ? 
कल्याणकारी राज्यका केही आधारभूत मानक हुन्छन्, जसलाई समाजका केही संस्थाले कार्यान्वयन गरिदिनुपर्ने हुन्छ । उदाहरणका लागि अहिले राजधानी र बाहिरका मुख्य सहरका बोर्डिङ स्कुलमा पढने बच्चाहरूलाई दिइने दसैं ‘होमवर्क’ मा एउटा प्रश्न हुन्छ– दसैंमा तिमी घुम्न गएको ठाउँका बारेमा निबन्ध लेख । यो भनेको त केटाकेटीलाई दसैंमा घुम्न जानुपर्छ भन्ने मान्यता रोपेको हो नि । यसले हिजोको दसैंमा परिवारका सदस्य बसेर रमाइलो गर्ने, खाने–पिउने भन्ने परम्परालाई बदल्न खोज्यो । विद्यार्थीलाई घुम्न जानुपर्छ भन्ने कुरा त सिकाइयो नै, घुम्न जान सक्ने र नसक्नेबीच असमानताको खाडल पनि निर्माण गरियो । यो त सानो उदाहरण मात्रै हो । यस्ता अभ्यास धेरै ठाउँमा धेरै रूपमा भइरहेका छन् । 

चाडबाडमा बजारमुखी अभ्यासलाई निरुत्साहित गर्न राज्यको भूमिका विस्तार हुन सक्छ ? 
चाडबाडका बेला मूलत: राज्यको चरित्र निरपेक्ष हुनुपर्छ । सबै चाडबाडमा राज्य आम नेपालीको हो भन्ने अर्थ दिनुपर्छ । चाडबाडका बेला राज्यद्वारा प्रवद्र्धित केही सामाजिक र सांस्कृतिक प्रचलन पनि सुरु गर्नुपर्ने देखिन्छ । चाडपर्वका बेला राज्यले सुरक्षा र स्वास्थ्यका कुरा मात्रै अघि सार्छ । तर त्यसभन्दा पर गएर चाडपर्वका अन्य पाटा उजागर गर्ने काम भएको छैन । चाडबाडले कसरी सामाजिक सद्भाव बढाउने, कसरी आर्थिक असमानता हटाउने भन्नेबारे केही सोच नै छैन । कतिसम्म भने चाडबाडका बेला बजारले मान्छेलाई नितान्त उपभोक्ता मात्रै नबनाइराखोस् भन्नेतर्फ राज्यको कुनै सोच छैन । महँगी नियन्त्रण र बजार अनुगमनमा मात्रै राज्यको सक्रियता देखिएर पुग्दैन । चाडबाडका बेला तयार हुने मनोविज्ञानका आधारमा बजारले हामीलाई उपभोक्ता बनाइरहेको छ, त्यसलाई तोड्नुपर्छ । दसैंको सामाजिक–सांस्कृतिक महत्त्व उजागर गर्ने कुरामा आर्थिक र राजनीतिक कुरा निर्धारक नबनोस् भन्नेतर्फ राज्यको भूमिका हुनुपर्छ । सामाजिक मूल्य, महत्त्व र मान्यतालाई निर्धारक बनाउनेतर्फ प्रयत्न गर्नुपर्ने हो, त्यो भइरहेको छैन । हिजो दसैं भनेको पारिवारिक–सामाजिक मिलन, भेटघाट र नातागोता प्रणालीको विस्तार भन्ने थियो । तर अहिले यी सबै कुरा कमजोर भएका छन् र आर्थिक कुरा मात्रै प्रधान भइरहेको छ । परम्परा, इतिहास र पुस्तैनी ज्ञानलाई नयाँ पुस्तामा निरन्तर हस्तान्तरण गर्दै जाने कुरा कमजोर बन्दै गएको छ । 

चाडपर्वले समाजलाई जोड्न वा गतिशील बनाउन कसरी भूमिका खेलिरहेको छ भन्नेबारे हामीकहाँ अध्ययन भएको छ ? 
अहिलेको सन्दर्भमा यस्तो अभ्यास एकदमै कमजोर छ । किनकि हाम्रो लेखन, पठन र प्राज्ञिक परम्परा नै कमजोर छ । दसंैबारे चर्चा–परिचर्चा हेर्‍यांै भने पनि थाहा पाउँछौं कि यो चाड देवीको स्तुति गर्ने चाड हो । त्यसैले नारीको सम्मान गरौं । यो असत्यमाथि सत्यको विजय भएको चाड हो । हामी यस्तै–यस्तै कुरामा अल्मलिएर बसेका छौं । तर कस्तो खालको समाजमा कस्ता खालका चाडपर्व निर्माण हुन्छन्, त्यसले कसरी निरन्तरता पाउँछ, कसरी त्यसका अर्थहरू निर्माण हुन्छन्, पर्वहरूका सामाजिक, आर्थिक, राजनीतिक अर्थहरू कसरी परिवर्तन हँ‘दै जान्छन् भन्ने कुरामा बहस एकदमै कम भएको छ । मानौं, राम र रावण पहिलेदेखि नै थिए, देवी र महिषासुरहरू पहिलेदेखि नै थिए र उनीहरूले झगडा गरेकै कारण दसंै सुरु भएको हो भन्ने मान्यता छ । यो त पर्वहरूलाई संस्थागत गर्न केही नियम बनाइयो, जसलाई हामीले धर्म भन्यौं । ती धर्म र सूत्रहरूलाई निरन्तरता दिन केही मिथक निर्माण गरियो । पर्व पहिला र कथा पछि हो । तर हामी कथालाई प्राथमिकता दिएर त्यसको व्याख्यामा अल्मलिएका छौं । यसो गर्दा मूल कथा छुटिरहेको हुन्छ । हाम्रा धेरैजसो छलफल यही कथावरिपरि मात्रै भइरहेको हुन्छ । 

समाजको विकाससँग चाडपर्वको के साइनो हुन्छ ? समाजसँगै चाडपर्वका मूल्य–मान्यता कसरी बदलिँदै छन् ? यस्ता विषयमा हामीले अध्ययन गरेका छौं त ? 
यस्ता विषयमा एकदमै कमजोर र निम्छरो अध्ययन छ । राज्यले आफ्नो शक्ति सीमित मान्छेका पक्षमा र धेरै मान्छेलाई दबाउन पनि प्रयोग गर्न सक्छ । सर्वस्वीकार्य सांस्कृतिक बिम्ब निर्माण गर्ने र त्यसका अर्थहरू स्थापित गर्ने शक्ति पनि राज्यसँग हुन्छ । तर यसमा केही कामै भएको छैन । योजना आयोग बाटोघाटो र अंकहरूको जोडघटाउमै व्यस्त छ । सरकारमा जानेहरू अर्को चुनावसम्म पनि सोच्न नसक्ने अवस्थामा छन् । त्यसकारण उनीहरूले गम्भीर अध्ययनमा रुचि देखाउने अपेक्षा पनि गर्न सकिँदैन । वास्तवमा राजनीतिक दलहरू यतिबेला सबभन्दा कमजोर छन् । नेताहरू र उनीहरूमा भएको इतिहासचेत साह्रै कमजोर छ । नेपाली समाजलाई ऐतिहासिक कालक्रमदेखि बुझ्ने, त्यसका सबल–दुर्बल पक्षलाई केलाउने र सबल पक्षलाई कसरी प्रवद्र्धन गर्ने भन्नेबारे कुनै दलले अध्ययन गरेका छैनन् । 

के हामीले विकास र प्रगति भनेको भौतिक संरचना वा ऐन–कानुनको निर्माण भन्ने मात्रै बुझ्यौं ? सांस्कृतिक अवयव, सामाजिक–सांस्कृतिक चेतले समाज निर्माणमा भूमिका खेल्ने पक्षलाई अवमूल्यन गर्दै गएका हौं ?
विकास भनेको मान्छेका लागि हो । समृद्धि समाजका लागि हो । मान्छे र समाजको चरित्र अनि आवश्यकता र चाहना नै नबुझी हामीले अरू खालका भौतिक सूचकांक मात्रै निर्माण गरेर हँु‘दैन । अहिलेको हाम्रो मूल समस्या यही हो । मूलत: मानिस सामाजिक र सांस्कृतिक प्राणी हो । मान्छेले सामाजिक हैसियतअनुसारको भूमिका निर्वाह गर्ने कुरा संस्कृतिले निर्माण गर्ने हो । मानिसको सामाजिक–सांस्कृतिक पाटोमा केही कामै भएको छैन । आर्थिक वृद्धिदर मात्रै प्रमुख सूचकका रूपमा आइरहेको छ । आर्थिक वृद्धिदरले मान्छेका केही आवश्यकता पूरा गर्लान् तर चाहना पूरा गर्न सक्दैनन् । मानिसको मानसिक आवश्यकता पूरा गर्न त सांस्कृतिक अवयव नै चाहिन्छ । चाडपर्वले नै मानिसको मानसिक आवश्यकता पूर्ति गर्ने हो । 

प्रकाशित:आश्विन ८, २०७४