फोटोफिचर

डाँडैभरी चौंरी प्रदर्शन

- शब्द/तस्बिर : शाहीमान राई , फालेलुङ (पाँचथर)

चौंरीपालन व्यावसाय प्रवर्द्धनका निम्ति भारतीय सिमावर्ती पाँचथरको प्राङबुङस्थित चाररातेमा आयोजित महोत्सवमा विभिन्न प्रजातिका याक चौंरी प्रदर्शन गरिएको छ । नयाँ वर्षको अवसरमा आयोजित महोत्सवमा चौंरीपालकहरुले आ–आफ्नो गोठबाट चौंरी एकै ठाउँ भेला पारेर डाँडाभरी प्रदर्शन गरेका हुन् ।

पाँचथरको पर्यटकीयस्थल फालेलुङ गाउँपालिका–४ प्राङबुङस्थित चाररातेमा सुर्केथाम दुग्ध सहकारी संस्थाद्वारा मुलुकमै पहिलोपटक आयोजित चौंरी महोत्सवमा याक, चौंरी, झोक्पे, तोलेलगायत विभिन्न किसिमका चौंरी प्रदर्शन गरिएको छ । चौंरीपालन व्यावसाय प्रवर्द्धन गर्दै पर्यटकीय आकर्षण बढाउन समुद्र सतहदेखि ३ हजार ५ सय १५ मिटर उचाईंमा रहेको सुर्केथाम र चाररातेको खुल्ला चौरमा आयोजित चौंरी महोत्सवमा भारतको सिक्किम, पश्चिम बंगाल, दार्जिलिङ, सिलिगढी, पूर्वी नेपालको झापा, इलाम, पाँचथर, ताप्तेलुङ, तेह्रथुम, राजधानी काठमाडौंलगायत विभिन्न ठाउँबाट हजारौं दर्शकहरु सहभागी थिए । भारतीय सीमावर्ती सन्दकपुरदेखि फालौटसम्म चौंरीपालक किसानले आ–आफ्नो चौंरी प्रदर्शनका लागि चारराते ल्याएका थिए । पाँचथरको फालेलुङ गाउँपालिकाअन्तर्गत सिदिन, मेमेङ, प्राङबुङ, याङवरक गाउँपालिकाको फलैंचा, च्याङथापू आसपासको क्षेत्रमा चौंरीपालन हुने गरेको छ । यसक्षेत्रमा करिब एकसय चौंरी गोठमा दुई हजार वटा याक र चौंरी छन् । यसमध्ये प्राङबुङमा २२ वटा गोठमा पाँचसय याक चौंरी रहेको महोत्सव आयोजक समिति संयोजक डिल्ली केरुङले बताए ।

भेंडा, बाख्रा, गार्इं, चौंरीलगायत पशुपालनका लागि उपयुक्त भए पनि कमजोर सरकारी नीति, सामुदायिक वन उपभोक्ता समूहको अवरोधका कारण चरण क्षेत्र अभावले चौंरीपालन व्यवसाय लोपोन्मुख अवस्थामा छ । भारतीय सीमाक्षेत्र इलामको पशुपतिनगरदेखि, सन्दकपुर, पाँथरको तुम्लिङ, चारराते, सुर्केथाम, फालौट, फलैंचा, चिवाभञ्ज्याङ, च्याङथापू, तिम्बूपोखरीसम्म नेपाल सरकारको तर्फबाट सीमा सुरक्षा, भौतिक पूर्वाधार विकास, चौंरीपालन व्यावसायीलाई प्रोत्साहन गर्ने कुनै नीति तथा कार्यक्रम नहुँदा खुल्लाचौर, वनजङ्गल, खर्कहरु प्रयोगविहीन छन् । नेपालीभूमि भए पनि त्यसक्षेत्रमा भारतीय सीमा सुरक्षा बलको गतिविधि, भारतीय सवारी आवागमन र भारततर्फ मात्रै सडक यातायात सेवा सञ्चालनमा रहेकोले भारत हो कि नेपाल ? नेपालीहरु नै अन्योलमा पर्ने गरेको स्थानीय चौंरीपालन व्यवसायी छविलाल राईले बताए । भारतको पश्चिम बंगाल सरकारले पशुपतिनगरदेखि सन्दकपुर हुँदै चारराते फालौटसम्म सडक विस्तार गरेपछि फालेलुङ र याङवरक गाउँपालिकाका माथिल्लो भेगका बासिन्दाहरु खाद्यान्न ढुवानी, यात्रु तथा मालवाहक सवारी आवागमन र आयात निर्यात सेवामा निर्भर छन् । आफ्नै भूमिमा सर्वसाधारणलाई अन्योलता हटाउन चौंरी महोत्सवको अवसरमा सीमाक्षेत्रमा नेपाली झण्डा फहराइएको छ । राष्ट्रिय योजना आयोगका सदस्य प्रभू बुढाथोकी र प्रमूख जिल्ला अधिकारी विनोदकुमार खड्काले राष्ट्रिय झण्डा फहराएर चौंरी महोत्सव उद्घाटन गरेका थिए । सीमाक्षेत्रमा फलामे डण्डीमा राखेर फहराइएको राष्ट्रिय झण्डा स्थायी रुपमा राख्ने आयोजक समितिले जनाएको छ ।

चौंरीपालन व्यवसायीले चौंरीको दूध र त्यसबाट उत्पादित वस्तुको बिक्री गरेर लाखौं रुपैंयाँ आम्दानी गर्दै आएका छन् । चौंरीको दूधबाट नौनी, घिउ, छुर्पी, सेरगेम, चिज लगायत विभिन्न परिकार बिक्री गरेर वर्षेनी दस लाख रुपैयाँसम्म आम्दानी हुने सबैभन्दा पूराना चौंरीपालक डण्डु लामाले बताए । उनले याक चौंरीको मूल्य ६० हजारदेखि एक लाख रुपैयाँमा बिक्री हुने गरेको छ । चौंरीपालन व्यवसायबाट पाँचथरमा वर्षेनी एक करोड ५० लाख रुपैयाँ आम्दानी हुने गरेको जिल्ला वन अधिकृत देवेसमणि त्रिपाठीले बताए । महोत्सवमा सहभागीले चौंरी, याक, भेंडा, घोडा, आसपासको वनक्षेत्रमा रहेका चराचुरुङ्गीको अवलोकन गरी भरपुर मनोरञ्जन प्राप्त गरेको संस्थाका अध्यक्ष रामचन्द्र गुरुङले बताए । लोपोन्मुख चौंरी संरक्षण, व्यावसायिक प्रवर्द्धन र पर्यटकीय आकर्षणका निम्ति इसिमोड नेपाल, जिल्ला वन, पशु सेवा कार्यालय, मेची पहाडी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समिति इलाम, जिल्ला समन्वय समिति, फालेलुङ गाउँपालिका, दीपज्योति युवा क्लब, फालेलुङ चौंरीपालक कृषक समूहको सहयोगमा आयोजित महोत्सव प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, सेना, प्रहरी, सशस्त्र सुरक्षा निकाय प्रमुख, स्थानीय विकास अधिकारी लगायत जिल्लास्थित सरकारी निकाय, कार्यालय प्रमुख, गैरसरकारी संघ संस्था, पत्रकारलगायत सरोकारवालाहरुको उपस्थिति भएकोले सफल भएको आयोजक संस्थाका संयोजक डिल्ली केरुङले बताए । 

रेडपाण्डा लगायत स्थानीय वन्यजन्तु संरक्षण आयोजना सञ्चालन गर्दै आएको दीपज्योति क्लब, चौंरीपालक किसान समूहले राष्ट्रिय योजना आयोग सदस्यसमक्ष उच्च पहाडी भेगमा हुने चौंरी, भेडा, च्याङ्ग्रा संरक्षणका लागि छुट्टै नीति निर्माण गरी परियोजना चौंरी संरक्षण परियोजना सञ्चालन गर्न माग गरे । जङ्गलमै चर्ने, वनमै बस्ने चौंरीलाई सामुदायिक वनमा चर्न प्रतिबन्ध लगाउँदा चरण क्षेत्रको अभावले लोपोन्मुख अवस्थामा रहेको दीपज्योति क्लबका अध्यक्ष सुनिल बान्तावाले बताए । चरण क्षेत्र अभावले भोजपुर, संखुवासभा, ताप्लेजुङ, पाँचथर लगायत विभिन्न जिल्लाबाट चौंरीपालकहरुले पाल्न छोडेर बिक्री गर्न थालेका छन् । नेपालको चौंरी किनेर तिब्बती व्यापारीले डाँडाडाँडा हिँडाएर तिब्बतर्फ लैजाने गरेका छन् ।  

प्रकाशित:वैशाख ३, २०७४